असार ३,२०७६ नयाँदिल्ली ।
अत्यधिक गर्मीका कारण भारतका बिहार, उत्तरप्रदेश, राजस्थान, दिल्ली, मध्यप्रदेश लगायतमा दैनिक जीवनयापन निकै कष्टकर बनेको छ । उच्च तापक्रमका कारण तातो हावा (लू) चल्नाले मानिसको दैनिकी कष्टकर बन्नुका साथै कैयौंले ज्यान गुमाएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूले करिब २ महिनामा उच्च गर्मी र तातो हावाकै कारण सयभन्दा बढीको ज्यान गएको दाबी गरेका छन् । त्यसैगरी गर्मीकै कारण फैलिएको मस्तिष्क ज्वरो (इन्सेफ्ला-इटिस)कारण बिहारमा मात्र थप एक सय बालबालिकाको ज्यान गएको छ ।
सरकारी तथ्यांकअनुसार सन् २०१० देखि २०१८ सम्म भारतमा लूका कारण ६ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
सन् २०१५ मा सबभन्दा बढी अर्थात् २ हजारभन्दा बढीको मृत्यु भएको थियो । यस वर्ष दिल्ली, बिहार, उत्तरप्रदेश, राजस्थान, मध्यप्रदेशका अधिकांश भागमा करिब दुई सातासम्म तापक्रम ४५ डिग्रीभन्दा माथि उक्लिएको थियो ।
मौसमविद्हरूले विगतका वर्षको तुलनामा यस वर्ष मनसुन केही पर धकेलिएकाले चर्को गर्मी भएको जनाएका छन् । यस वर्ष राजधानी दिल्लीले नै २१ वर्षयताकै सबैभन्दा चर्को गर्मी व्यहोर्यो ।
अघिल्लो सोमबार दिल्लीको तापक्रम ४८.४ डिग्री थियो । यो २६ जुन १९९८ को अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रमभन्दा ०.४ डिग्रीले कम हो । तर जुन महिनाको तापक्रमलाई हेर्ने हो भने दिल्लीमा हालसम्मकै बढी गर्मी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
त्यसैगरी, गतहप्ता नै उत्तरप्रदेशको बान्दामा ४९.२ डिग्री, प्रयागराजमा ४८.९ डिग्री मापन गरिएको थियो । साथै राजस्थानको चुरुमा त दुई दिनसम्म ५० डिग्री नाघेको जनाइएको छ ।