मलेसियासँगको श्रम सम्झौता कार्यान्वयन गर्न एक महिनाभित्र बैठक बस्ने

आषाढ ०५,२०७६

-

असार ५,२०७६ काठमाडौं । 
नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतालाई कार्यान्वयन गराउन एक महिनाभित्र उच्चस्तरीय संयुक्त प्राविधिक टोलीको बैठक हुने भएको छ ।
 
अन्तराष्ट्रिय श्रम संगठन (आइएलो)को शतवार्षिकी सभामा सहभागी हुन जेनेभामा आइपुगेका मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब महेशप्रसाद दाहालबीच भएको शिष्टाचार भेटमा प्राविधिक टोलीको बैठक गर्ने सहमति भएको हो ।
 
शतवार्षिकीको अन्त्यतिर मलेसियाको सम्बोधन गर्ने समय रहेकोले सेगरनको टोली जेनेभा पुगेका थिए । महासभामा सम्बोधन गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट स्वदेश फिर्किसकेकोले सेगरनसँग भेट हुन सकेन ।
 
मलेसियामा नेपालले कामदार पठाउन रोक लगाएको १३ महिना पुगेको छ । गत कार्तिक १२ गते श्रम सम्झौता भएपछि पहिलो प्राविधिक बैठक बसेको थियो ।
 
श्रम सम्झौतालाई कार्यान्वयन गराउनको लागि पहिलो प्राविधिक बैठकले ढाँचा बनाएको थियो । जसमा निकै ढिलो गरी तयारी भइरहेकोले मलेसियामा नयाँ नेपाली कामदार जान रोकिएको हो ।