प्रदेश ५ को ३६ अर्ब ४१ करोड बजेट बहुमतले पारित
-
असार ९,२०७६ काठमाडौं ।
प्रदेश ५ को प्रदेशसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट बहुमतले पारित गरेको छ ।
असार ५ गतेदेखि सुरु भएको छलफल सोमबार सकिएपछि सभामुख पूर्णबहादुर घर्तीले अर्थ सम्बन्धी विधेयक बैठकमा निर्णयार्थ पेश गर्नुभएको थियो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेटको बिपक्षमा ध्वनिमत दिएको थियो भने सत्तारुढ नेकपा सहित सरकार समर्थित समाजवादी पार्टी, राजपा र जनमोर्चाले बजेटमा समर्थन जनाएका थिए ।
यसअघि हिजोको बैठकले बिनियोजन बिधेयक सर्वसम्मत रुपमा पारित गरेको थियो । विधेयक र बजेटमा समेत गरी प्रदेश सभाका ८६ मध्ये ५३ प्रदेश सभा सदस्य छलफलमा सहभागी भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी मनोजकुमार पाण्डेले जानकारी दिनु भएको छ ।
छलफलमा भाग लिने अधिकांश सदस्यले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिदै प्रतिफलमुखी नभई प्रचार र वितरणमुखी भएको आरोप लगाएका थिए । सत्ता पक्षकै कतिपय सदस्यले समेत बजेटमा असन्तुष्टी जनाए ।
बैठक र विधेयक माथि उठेका विषयवस्तुमा जवाफ दिंदै मुख्यमन्त्री शंकर पोखरेलले बजेट समग्र पक्ष समेटेर तयार गरिएकाले सन्तुलित भएको दाबी गर्नुभएको थियो । बजेट पारित भएसँगै प्रदेश सभाको बैठक असार २९ गतेसम्मका लागि स्थगित भएको छ ।