Trending :
 

मूल्य दिन नसकेको भन्दै चिया उद्योग बन्द गर्ने घोषणा !

आषाढ ११,२०७६

-

असार ११, २०७६ काठमाडौं ।
किसानलाई हरियोपत्तीको मूल्य दिन नसकेको भन्दै सूर्योदय नगरपालिकाका उद्योगीले चिया प्रशोधन उद्योग बन्द गर्ने घोषणा गरेका छन्।
 
स्थानीय सरकारले तोकेको हरियोपत्तीको न्यूनतम् मूल्य दिँदा आफूहरू डुब्ने अवस्था आएको भन्दै उनीहरूले बिहीबारदेखि सबै उद्योग बन्द गर्ने निर्णयसमेत गरेका हुन्।
 
सूर्योदय टी एसोसिएसनमा आबद्ध उद्योगीको गत ८ गते बसेको बैठकले सूर्योदय नगरपालिकाले तोकेको हरियोपत्तीको न्यूनतम् मूल्य दिन नसक्ने, बरु उद्योग नै बन्द गर्ने निर्णय गरेको थियो।
 
उद्योगीको निर्णयसहितको पत्र एसोसिएसनले नगरपालिकालाई पनि पठाएको जनाएको छ। पत्रमा भारतीय बजारमा विक्री हुने यहाँको चियाले लागत मूल्य धान्न नसकेको, तोकिएको मापदण्डको पत्ती उद्योगमा नआएको, ४० प्रतिशतभन्दा कमको पत्ती उद्योगले फर्काउन नसक्नेजस्ता कारणले आफूहरू समस्यामा परेको उल्लेख छ।
 
सूर्योदय नगरमा रहेका ६२ भन्दा बढी चिया प्रशोधन उद्योगमध्ये एसोसिएसनमा ५२ वटा आबद्ध छन्। यी उद्योगमा ३ हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधनका लागि पुग्छ।
 
यहाँका उद्योगमा सूर्योदय नगरका मात्र नभई माइजोगमाई, रोङ गाउँपालिकालगायतका किसानले उत्पादन गरेको हरियोपत्तीसमेत प्रशोधनका लागि लैजाने गरिएको छ।