Trending :
 

नेपाल समूह विजेता बन्दै एसीसी पूर्वी क्षेत्रीय क्रिकेटको सेमिफाइनलमा

आषाढ २०,२०७६

-

असार २०,२०७६ काठमाडौं ।
नेपाल समूह विजेता बन्दै मलेसियामा जारी १९ वर्षमुनिको एसीसी पूर्वी क्षेत्रीय क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।
 
समूह चरणको अन्तिम खेलमा शुक्रबार सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो ।
 
पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो ।
 
किन्रारा ओभलमा नेपालले दिएको ३२७ रनको फराकिलो चुनौती पछ्याउनेक्रममा सिंगापुर ३९ ओभर २ बलमा ‘अलआउट’ हुँदै १०९ रनमा समेटियो ।
 
सिंगापुरका हरि कुकरेजाले सर्वाधिक ३० रन जोडेको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा नेपालका कुशल मल्लले ४, तिलकराज भण्डारीले २ तथा रसिद खान र सागर ढकालले समान १र१ विकेट लिए ।
 
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो ।
 
रित गौतमले १३७ बलमा अविजित रहँदै ११५ रन बनाए । खडक बोहोराले ९० बलमा ९० रन, कुशल मल्लले २३ बलमा अविजित रहँदै ५१ तथा पवन सर्राफले ४१ बलमा ४५ रन जोडे ।
 
रित ‘म्यान अफ दी म्याच’ घोषित भए ।
 
समूह ‘ए’को विजेता नेपालले अब समूह ‘बी’को उपविजेतासित प्रतिस्पर्धा गर्नेछ । चीनलाई हराएको सिंगापुरले समूह ‘बी’को विजेतासित खेल्नेछ । चीन दुवै खेल हारेर बाहिरिएको छ ।
 
शुक्रबारै भएको अर्को खेलमा हङकङले भुटानलाई १७० रनले हराएको छ ।