कुलेखानी ड्याम भरिएपछि खोल्ने तयारी, सतर्क रहन आग्रह

आषाढ ३०,२०७६

-

मकवानपुर । कुलेखानी ड्याम भरिए पछि खोल्ने तयारी गरिएको छ । ड्याम भरिदाँ खतराको संकेत देखिएको भन्दै खोल्ने तयारी गरिएको हो ।
 
निरन्तरको वर्षापछि कुलेखानीमा पानीको सतह निकै बढेको र क्षमताभन्दा बढी पानी जमेपछि खतरा निम्तन सक्ने भन्दै जिल्ला सुरक्षा समितिको बैठकले ड्याम खोल्ने निर्णय गरेको हो ।
 
उक्त ड्याम खोल्दा पानीको प्रवाह हुने विभिन्न चार जिल्लामा प्रभाव पार्ने छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।
 
कुलेखानीको ड्यामको ढोका खोल्दा मकवानपुरको भिमफेदी, इन्द्रसोवर, बागमती गाउँपालिकाका साथै सर्लाही, रौतहट र सिन्धुली जिल्लामा प्रभाव पर्छ ।
 
विहान ८ बजे कुलेखानी ड्यामको ढोका खोल्ने तयारी गरिएको छ । कुलेखानी ड्यामको क्षमता १ हजार ५ सय ३० मिटर रहेको छ । बिहान ६ बजे सम्ममा १ हजार ५ सय २५ दशमलब ४ मिटर पानी भरीसकेको छ ।
 
प्रतिघण्टा २ मिटरका दरले पानी बढीरहेको र यसलाई नखोलिए खतरा बढ्ने भएकोले खेल्ने तयारी गरिएको प्रजिअ तामाङले बताए ।
 
 त्यसैगरि, इन्द्र सरोबरमा पानी भरिएपछि कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाउन थालिएको छ ।   कुलेखानी पहिलो ९६० मेगावाट० र दोस्रो ९३२ मेगावाट० पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । कुलेखानीको जलाशय अघिल्ला वर्षहरुमा असोजमा मात्र भरिने गरेको थियो । यस वर्ष असारमै भरिएपछि बाँध खोल्नु नपरोस् भनी आयोजनालाई पूर्ण क्षमतामा चलाइएको उनले जानकारी दिए ।
 
प्राधिकरणले वर्षातको समयमा कुलेखानीको विद्युत्गृह नचलाई राख्ने गरेको थियो । कुलेखानी वर्षाको पानी जम्मा गरी मुख्य रुपमा विद्युत्को अधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो । विद्युत्को आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ ।
 
अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्णक्षमतामा चलाई भारततर्फको विद्युत् आयात घटाइएको घिसिङले जानकारी दिए । कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलाशयको पानीको सतह २ सेन्टिमिटर घट्ने प्राधिकरणको भनाइ छ । अविरल वर्षका कारण तराईमा विद्युत माग घटेको प्राधिकरणले बताएको छ । अहिले देशभर करीब ६ सय मेगावाट मात्रै माग रहेको छ ।
 
प्राधिकरणले कुलेखानी जलाशय भरिँदै गएका कारणले पानी निकासका लागि बाँधको गेट खोल्नुपर्ने अवस्था आउनसक्ने भएकाले सर्तक रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह समेत गरेको छ । कुलेखानीको पानी बाग्मती नदीमा गएर मिसिन्छ । ‘जलाशयको पानीको सतह घटाउन जलाशयलाई पूर्ण क्षमतामा चलाइरहेका छौं, यसबाट पनि नघटेमा पानी ‘स्पिल वे’बाट बाहिर जान्छ’ कार्यकारी निर्देशक घिसिङले भने ।