अमेरिकामा इरानले मानवरहित ड्रोन खसालेको दावी
-
साउन ३, २०७६ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जलसेनाले इरानी मानवरहित ड्रोन खसालेको दावी गरेका छन् ।
उनले अमेरिकी जलसेनाले आफ्नो पानीजहाज नजिक आएपछि रक्षात्मक कारवाहीका क्रममा स्ट्रेट अफ होर्मुजमा इरानी ड्रोन खसालेको बताए । तर, इरानले भने आफ्नो ड्रोन सम्पर्कविहिन भएकोबारे कुनै जानकारी नरहेको जनाएको छ ।
गत जुनमा इरानले अमेरिकी जासुस ड्रोन विमान खसालेको थियो । यसअघि इरानको रिभोल्युसनरी गार्ड्सले खाडीमा तेल तस्करी गरेको आरोपमा विदेशी तेल ट्याङ्कर र १२ जना चालक दलका सदस्य कब्जामा लिएको जनाएको थियो ।
दश लाख लिटर तेल तस्करी गरेको आरोपमा स्ट्रेट अफ होर्मुजमा रहेको लाराक टापुको दक्षिणमा ट्याङ्कर कब्जामा लिइएको जनाइएको छ । तर उक्त ट्याङ्कर कुन देशको भन्ने उल्लेख छैन । गत सातामात्र बेलायतले इरानी पानीजहाजहरूले आफ्नो एउटा ट्याङ्करलाई खाडीमा अवरोध गर्ने प्रयास गरेको जनाएको थियो ।
मे र जुन महिनामा पनि इरानले दुई पटक ओमानको खाडीमा तेल ट्याङ्करहरूमाथि आक्रमण गरेको अमेरिकी आरोप छ । तर तेहरानले आरोप अस्वीकार गरेको छ । सन् २०१५ मा इरानसँगको बहुराष्ट्रिय पारमाणविक सम्झौताबाट अमेरिका अलग्गिएपछि तेहरानमाथि कडा प्रतिबन्ध लगाएको छ । जसका कारण खाडी क्षेत्रमा तनाव बढिरहेको छ । एजेन्सी