पाकिस्तानी प्रधानमन्त्री इमरान र अमेरिकाका राष्ट्रपति ट्रम्पबीच भेटवार्ता
-
साउन ७, २०७६ काठमाडौं ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ ।
अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री खानले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । भेटमा आपसी हित, सहयोग र सहकार्यका बारेमा छलफल भएको दुवै देशका अधिकारीहरुले जनाएका छन् ।
भेटमा भारत र पाकिस्तानबीच लामो समयदेखि विवादको विषय रहँदै आएको कश्मीर मुद्दाबारे चर्चा भएको थियो । पाकिस्तानी प्रधानमन्त्रीका साथ आयोजित संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले केही अघि आफूसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई कश्मीर मुद्दामा मध्यस्थताका लागि आग्रह गरेको बताए ।
पाकिस्तानी प्रधानमन्त्रीका साथ संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘दुई साताअघि नरेन्द्र मोदीसँग मेरो भेट भएको थियो, उहाँले मलाई तपाई मध्यस्थता गर्न चाहनुहुन्छ भनेर सोध्नु भयो, मैले सोधेँ– कहाँ रु उहाँले भन्नु भयो– कश्मीरमा ।’
ट्रम्पले दुवै देशलाई मान्य भए आफू कश्मीर मुद्दामा मध्यस्थताका लागि तयार रहेको समेत बताए ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्रम्पको सो भनाइको स्वागत गरेका छन् । अमेरिका विश्वकै शक्तिशाली मुलुक भएको जिकिर गर्दै उनले उपमहाद्वीपमा शान्ति स्थापनाका लागि अमेरिकाले अहम् भूमिका निर्वाह गर्न सक्ने उनले बताए ।
तर, भारतले भने ट्रम्पको उक्त भनाईको खण्डन गरेको छ । ट्रम्प र इमरानबीच संयुक्त पत्रकार सम्मेलनलगत्तै सञ्चारमाध्यमले कश्मीर मुद्दाबारे ट्रम्पले दिएको अभिव्यक्ति सार्वजनिक भएपछि भारतले आफ्नो भनाइ सार्वजनिक गर्दै मोदीले ट्रम्पसमक्ष त्यस्तो प्रस्ताव नगरेको प्रष्ट पारेको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्वीट गर्दै भनेका छन्, ‘हामीले कश्मीर मुद्दामा मध्यस्थकर्ताका लागि तयार रहेको राष्ट्रपति ट्रम्पको भनाइ पत्रकार सम्मेलनमा हे¥यौं, प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पसँग कुनै त्यस्तो प्रस्ताव गर्नुभएको छैन ।’
भारतले पाकिस्तानसँग सबै मुद्दामा द्विपक्षीय वार्ता हुन सक्ने तर त्यसका लागि सीमापारबाट आतंकवाद बन्द हुनुपर्ने शर्त निरन्तर राख्दै आएको पनि उनले स्मरण गराएका छन् ।
शिमला सम्झौता र लाहोर घोषणापत्रका आधारमा पाकिस्तान र भारतबीच सबै मुद्दामा द्विपक्षीय समाधान हुन सक्ने उनको भनाइ छ । एजेन्सी