कुवेतलाई हराउँदै एसिया फाइनलको तेस्रो खेलमा नेपाल विजयी
-
साउन ११,२०७६ काठमाडौं ।
आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटअन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपाल विजयी भएको छ ।
शबिार भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो ।
सिंगापुरको ईन्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १६ ओभरमा मात्र ३ बिकेट गुमाएर पुरा गर्यो ।
जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
अब नेपालले भोलि आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने छ ।
नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए ।
ओपनरसमेत रहेका कप्तान पारसले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । ३२ बलमा अर्धशतक बनाएका पारसले ११ चौका र १ छक्का प्रहार गरे ।
योसँगै कप्तान पारस टी-ट्वेन्टी अन्तर्राष्ट्रियमा तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।
यसअघि कप्तान पारसले नेदरल्यान्ड र मलेसियाविरुद्ध अर्धशतक बनाएका थिए ।
यस्तै शरद भेषवाकरले ३८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।
कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहँदै सर्वाधिक ४९ रन बनाए ।
यस्तै आदनन इद्रेसले २५ तथा मोहमद आस्लमले २३ रन बनाए । त्यसबाहेक राभिजा डी सिल्भाले १५ र बिलाल ताहिरले १३ रन जोडे ।
कुवेतलाई सस्तैमा रोक्न स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३र३ विकेट लिए ।
सन्दीपले ४ ओभरमा २१ रन खर्चिए भने बसन्तले २० रन खर्चिए । यस्तै करण केसीले २ तथा अविनाश बोहराले १ विकेट लिए ।