जेलमा ग्याङफाइट हुँदा ५२ को मृत्यु !

श्रावण १४,२०७६

-

साउन १४, २०७६काठमाडौं ।
ब्राजिलको एक जेलमा भएको झडपमा ५२ जनाको मृत्यु भएको छ। कैदीबन्दीका दुई समूहबीच करिब पाँच घण्टा चलेको उक्त झडपमा कम्तिमा ५२ जना मारिएको अधिकारीहरूलाई उद्‍धृत गर्दै बीबीसीले जनाएको छ।   
अल्तामिरा जेलको एउटा ब्लकबाट अर्को ब्लक कब्जामा लिई कैदीबन्दीहरूले आक्रमण सुरु गरेका थिए। १६ जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने जेलमा लगाइएको आगोमा निसास्सिएर अन्यको ज्यान गएको त्यहाँका अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए।
 
कैदीबन्दीहरूले जेलका दुई अधिकारीलाई पनि नियन्त्रणमा लिएका थिए। जेलमा एउटा ब्लकमा रहेका कैदीबन्दीले अर्को ब्लकमा आगो लगाएका समाचारमा जनाइएको छ।
 
ठूलो संख्यामा अव्यवस्थित किसिमले कैदीहरू राखिएका कारण घटना नियन्त्रणमा लिन प्रहरीले नसकेको जनाइएको छ। २०० जना कैदी राख्ने क्षमता भएको यो करागारमा अहिले ३०९ जना राखिएको समाचारमा उल्लेख छ। भिडियोमा जेलको छतमा धुवाँ उडिरहेको देखिन्‍छ। 
 
घटनाको अनुसन्धानपछि दोषीहरूलाई अलग राखी कारबाही गरिने अधिकारीहरूले जनाएका छन्।
 
सन् २०१७ मा पनि ब्राजिला जेलमा रहेका कैदीका समूहबीच झडप हुँदा १२० जनाको मृत्यु भएको थियो। जेलमा अधिकांश लागुऔषध ओसारपसार र कारोबारसँग सम्बन्धित कैदीहरू हुने गर्छन्। जुन २०१६ सम्मको तथ्यांकअनुसार त्यहाँका जेलमा ७ लाख कैदी छन्।