एक वर्षमा नारायणी र राप्तीमा ९ घडियाल गोही मरे

श्रावण १४,२०७६

-

चितवन । नारायणी र राप्ती नदीमा गएको एक वर्षमा माछा मार्ने (तिहारी जाल)मा परेर ९ वटा घडियाल गोही मरेका छन्।
 
सङ्कटापन्न घडियाल गोही माछा मार्ने नारायणी र राप्तीमा थापिएका जालमा परेर मरेपछि यसको संरक्षणमा चुनौती अझै बढेको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले ९ वटा घडियाल गोही जालमा परेर मरेको जानकारी दिए।
 
प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार तिहारी जालमा परेका १२ वटा घडियाल गोहीको भने जीवितै उद्धार गरिएको थियो। मरेका घडियाल गोहीमध्ये ७ वटा राप्तीमा र २ वटा नारायणीमा जालमा परेको प्रमुख संरक्षण अधिकृत ढकालले बताए।
 
जालमा परेर मरेका घडियाल गोहीमध्ये एउटा ठूलो थियो र ८ वटा साना थिए। निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले अघिल्लो वर्ष जेठमा नारायणीमा माछा मार्न थापेको जालमा परेर एउटा भाले गोही मरेको थियो।
 
लुकिछिपी माछा मार्न जाल हान्नेले भलिबलको नेट जत्रो तिहारीजाल नदीमा माछा मार्न प्रयोग गर्ने गर्छन् । माछा र साना गोहीलाई तिनै मानिसले तानेर मार्ने वा छोड्ने गर्दछन् भने ठूला गोहीले जाल तानेर लैजाने गर्दछ । त्यही जालमा गोही बेरिने, मुखमा अड्किने गरेर खान नपाई गोही मर्ने गरेको खड्काको भनाइ छ ।
 
मानिसको अतिक्रमणबाट गोही प्रभावित भएको खड्काको भनाइ छ। निकुञ्जमा आश्रित १०० हाराहारी जनतालाई हाते जाल प्रयोग गर्न निकुञ्जले लाइसेन्स दिएको भए पनि लुकिछिपी माछा मार्न तिहारी जाल हान्नेका कारण गोही मर्ने गरेका छन्। अहिले नारायणी र राप्ती दुई नदीमा ३ वटा मात्र भाले गोही रहेका छन्।
 
अघिल्लो वर्ष एउटा भाले गोही मरेपछि बर्दियाबाट ल्याइएको थियो। प्रजनन केन्द्रमा हुर्काएर अहिलेसम्म देशभरिका विभिन्न नदीमा १ हजार ४६५ वटा गोही छाडिसकिएको छ। तीमध्ये राप्तीमा मात्र ७ सय ८५ गोही छाडिएको छ।
 
निकुञ्जका अनुसार नारायणीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० वटा गोही छाडिएको छ। नदीमा गोही छाड्दै गए पनि संख्या बढ्न सकेको छैन। पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ वटा गोही रहेका छन्।
 
सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो। नदीहरु प्रदूषित बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेका घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ। हरेक वर्ष नारायणी र राप्ती किनारबाट गोहीका अन्डा संकलन गरी प्रजनन् केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ। अहिले प्रजनन् केन्द्रमा साना बच्चाबाहेक ४६७ वटा गोही रहेका छन्।