आयातीत वस्तुको बिक्री मूल्य भन्सारमै तोकिने, ठगिने स्थितिको अन्त्य
-
साउन १६,२०७६ काठमाडौं ।
भन्सार विभागले १२ प्रकारका आयातीत वस्तुको खरिदमा भन्सार विन्दुमै अधिकतम खद्रा बिक्री मूल्य ९एमआरपी० घोषणा गरेर कार्यान्वयनमा ल्याएको छ । यससँगै यी वस्तुहरुमा उपभोक्ता ठगिने स्थिति अन्त्य भएको विभागको दाबी छ ।
अबदेखि सबै प्रकारका टेलिभिजन, घरायसी एयर कन्डिसनर, घरायसी रेफ्रिजेरेटर, वासिङ मेसिन, माईक्रोओभन, शक्तिबद्र्धक जुस, मार्वल ग्रेनाईट र टायल, कुकिङ रेन्ज, चिम्नी, डिजिटल क्यामेरा, भिडियो क्यामेरा र सबै प्रकारका सवारी साधनहरु कतिमा बेच्ने भन्ने निधो व्यवसायीले भन्सार विन्दुमै गर्नु पर्नेछ ।
आर्थिक ऐन २०६८ को व्यवस्था अनुसार तत्कालीन अर्थमन्त्रीले निर्णय गरेको ६ वर्ष १० महिनापछि भन्सार विभागले कार्यान्वयनमा ल्याएको हो ।
व्यवसायीले भन्सार विन्दुमा घोषणा गरेको मूल्यभन्दा धेरैमा उपभोक्तालाई वस्तु तथा सामान बिक्री गरे कालोबजारी गरेको मानिने भएकाले यो व्यवस्थापछि उपभोक्ता ठगिने क्रम अन्त्य हुने विभागका महानिर्देशक रामेश्वर दंगालले बताए । महानिर्देशक दंगालका अनुसार उल्लेखित वस्तुहरुको एमआरपी विभागको वेबसाइटमा राखिनेछ ।
ग्राहकले खरिद गरेका यस्ता वस्तुको मूल्यमा आफूले महँगो मूल्य तिरेको महसुस गरे वेवसाइटमा उल्लेखित मूल्यसूची हेरेर जानकारी लिन सकिने विभागले जनाएको छ ।