जेठ २१,२०७४
-
जेठ २१ –
स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब युभेन्ट्स माथि जित निकाल्दै कीर्तिमानी १२ औं पटक च्याम्पियन्स लिग उपाधि जितेको छ ।
वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा युभेन्टसलाई ४–१ ले पराजित गर्दै रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
रियललाई कीर्तिमानी १२ औं पटक उपाधि दिलाउन क्रिष्टियानो रोनाल्डोले दुई तथा कासिमिरो र मार्को असेन्सियोले समान एक एक गोल गरे । युभेन्टसका लागि मारियो मान्डुजकीले एक गोल गरेका थिए ।
पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए । खेलको २० औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा मारियो मान्डुजकी गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । दोस्रो हाफमा रियलले थप तीन गोल गर्यो ।
खेलको ६१ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई पुनः अग्रता दिलाए । त्यसको तीन मिनेट नबित्दै रोनाल्डोले ब्यतिगत दोस्रो गोल गरेपछि रियलको अग्रता ३–१ बन्यो ।
रोनाल्डोले यो सँगै च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या १०५ पुराए । जुन कीर्तिमानी गोल संख्या हो ।
यसै क्रममा युभेन्ट्सका जुवान कुआर्डाडो ८४ मिनेटमा दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
१० खेलाडीमा समेटिएको युभेन्टसका लागि ९० औं मिनेटमा रियलका मार्को असेन्सियोले गोल गरेपछि रियलले ४–१ को जित निकाल्दै च्याम्पियन्स लिगको उपाधिमा कब्जा जमायो ।
रियलले गत सिजन पनि च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
प्रमुख समाचार
सम्वन्धित समाचार