गान्धीको राजीनामापछि भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी
-
साउन २६, २०७६ कामाण्डौं ।
भारतीय कांग्रेसले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाएको छ । कांग्रेस कार्यसमितिको शनिबार बसेको बैठकले पार्टीकी पूर्व अध्यक्षसमेत रहेकी गान्धीलाई अन्तरिम अध्यक्ष बनाएको हो ।
कांग्रेस नेता गुलाम नबी आजाद र हरीश रावतले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाएको र राहुल गान्धीको राजीनामा स्वीकृत गरेको जानकारी दिए ।
राहुल गान्धीले पार्टीका एउटा आशाको किरण छर्ने काम गरेको पार्टीले ठहर गरेको छ । कुशल नेतृत्वका लागि पार्टीले राहुल गान्धीलाई धन्यवाद व्यक्त गरेको छ ।
लोकसभा चुनावमा भोगेको पराजयपछि गान्धीले राजीनामा दिएका थिए । उनको राजीनामा पार्टीले स्वीकार गरेको छ । तर पार्टीलाई अगाडि बढाउन राहुल गान्धीले महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेको छ ।
त्यस्तै प्रदेश नेताहरुको राहुल गान्धीलाई नै अध्यक्ष बनाउने प्रस्ताव पनि कार्यसमितले खारेज गरेको छ । पूर्णकालीन अध्यक्ष चयन नहुँदासम्मका लागि सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाइएको छ ।
त्यस्तै जम्मू–कश्मीरका विषयमा पनि कांग्रेसको कार्यसमितिमा चर्चा भएको छ । कार्यसमिति बैठकले जम्मू–कश्मीरका विषयमा सरकारसँग विपक्षी पार्टीहरुको एउटा समूहलाई त्यहाँको बस्तु स्थिति जान्नका लागि जान दिन अनुरोध गर्ने बताएको छ ।
भारतीय कांग्रेसको नयाँ अध्यक्षका लागि शशि थरुर, ज्योतिरादित्य सिन्धिया, मुकुल वास्निकलगायतका नेताको नाम चर्चामा रहेको छ ।