देशभर बाढी पहिरोले पारेको विनास : आधा अर्बको क्षति, ४५ वटा पुल बिग्रिए

श्रावण २७,२०७६

-

काठमाडौं । यो बर्षको बर्षायाम शुरु भएदेखि बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका ४५ वटा पुलमा क्षति पुगेको छ । आधा अर्ब बराबरको क्षति भएको छ ।
 
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति पुगेको र तिनको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख बजेट आवश्यक पर्ने अनुमान गरिएको बताए ।संसद्को विकास समितिको आइतवारको बैठकमा मन्त्री महासेठले समिति सदस्यहरूलाई यस्तो जानकारी दिएका हुन् ।
 
मन्त्री महासेठका अनुसार सडक डिभिजन खुर्कोटअन्तर्गत ५ वटा पुलमा क्षति पुगेको छ भने ३ वटाको मर्मतमा ४७ लाख खर्च हुने अनुमान छ । सडक डिभिजन विराटनगरअन्तर्गत तीन वटा पुलमा क्षति पुगेको छ । ती पुलको मर्मतमा १ करोड २५ लाख खर्च हुने अनुमान छ । सडक डिभिजन जनकपुरमा ५ वटा पुलमा क्षति पुगेको छ भने पुनर्निर्माणका लागि २ करोड ९० लाख लाग्ने अनुमान गरिएको छ ।
 
सडक डिभिजन लहानअन्तर्गत ६ वटा पुलमा क्षति पुगेको छ भने पुनर्निर्माणका लागि १ करोड खर्च लाग्ने अनुमान गरिएको छ । उत्तर–दक्षिण व्यापारिक मार्गअन्तर्गत एउटा पुलमा क्षति पुगेको छ भने पुनर्निर्माणका लागि ५० लाखको खर्च अनुमान छ ।
 
सडक डिभिजन हेटौंडामा ३, सडक डिभिजन नेपालगन्जमा ३, मध्यपहाडी लोकमार्ग आयोजनामा २ र सडक डिभिजन झापामा ७ वटा पुलमा क्षति पुगेको छ । ती पुलको पुनर्निर्माणका लागि २ करोड १ लाख, ३ करोड, १ करोड २० लाख र २ करोड २५ लाख खर्च हुने मन्त्रालयले अनुमान गरेको छ ।
 
सडक डिभिजन दमौलीमा एउटा पुलमा क्षति पुगेको छ भने बनाउन १ करोड ३५ लाख लाग्ने अनुमान गरिएको छ । सडक परिक्रमा मार्ग जनकपुरमा एउटा पुलमा क्षति पुगेको छ भने त्यसको पुनर्निर्माणमा २ करोड ५० लाख लाग्ने अनुमान छ ।
 
सडक डिभिजन चन्द्रनिगाहपुरमा एउटा पुलमा क्षति पुगेको छ भने हुलाकी राजमार्ग जनकपुरअन्तर्गत ७ वटा पुलमा क्षति पुगेको छ । चन्द्रनिगाहपुरका पुलको पुनर्निर्माणमा १४ लाख र हुलाकी राजमार्गको पुल निर्माणका लागि २ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।
 
मन्त्री महासेठले वर्षाले क्षति र्पुयाएका सबै सडक तथा पुलको पुनर्निर्माणका लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भइरहेको जानकारी गराए । उनले वर्षाले क्षति र्पुयाएका सबै सडक तथा पुलहरूको पुनर्निर्माणको जिम्मेवारी सरकारले लिने समेत जनाए । समितिले बाढी र पहिरोले क्षति र्पुयाएको पुलको तत्काल पुनर्निर्माण तथा मर्मत गर्न निर्देशन दिएको छ ।
 
समितिले दशैं, तिहार, छठजस्ता चाडपर्वलाई समेत ध्यानमा राखेर वर्षाले क्षति र्पुयाएका संरचना तत्काल बनाएर नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन निर्देशन दिएको छ । (राजधानी दैनिकबाट )