सुनको मूल्य अहिले सम्मकै उच्च,प्रतितोला ७१ हजारमा कारोबार

श्रावण २८,२०७६

-

साउन २८,२०७६ काठमाडौं ।
सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। केही दिन स्थिर रहेको सुनको भाउ मंगलबार एक हजार रुपैयाँले बढेको छ। मंगलबार सुन प्रतितोला ७१ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
 
एक्कासी यती धेरै मूल्य बृद्धि भएसँगै आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। यो मूल्य अहिले सम्मको उच्च मूल्य बृद्धि भएको महासंघले जनाएको छ। सुनको भाउमा लगातारको बृद्धिले यसपटकको चाडबाडमा पहेंलो धातुको कारोबार खासै नहुने देखिन्छ। सुनको भाउ उच्च भएपछि केही समयदेखि सुन पसलहरुमा किन्ने ग्राहकको भिड घटेको छ।
 
सुनको मूल्य बढेसँगै सुन किन्ने भन्दा पुरानो सुन बेच्ने ग्राहकको भिड् बढेको व्यवसायीहरु बताउँछन्। अमेरिका इरानबीचको बढ्दो तनाव तथा अमेरिका चीन व्यवपार युद्धको असर अन्तर्राष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन्।
 
त्यस्तै ट्रेड वार तथा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएकाले अन्तराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर बढ्दै गएको हो। यसअघि तीनदिनसम्म सुन तोलाको ७० हजारमा कारोबार भएको थियो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ।