अमेरिकी दूतावासले सन्दीपको भिसा आवेदन स्वीकृत गर्यो

श्रावण २८,२०७६

-

साउन २८,२०७६ काठमाडौं ।
काठमाडौं स्थित अमेरिकी दुतावासले नेपाली स्टार लेगस्पीनर सन्दीप लामिछानेको भिसा नदिने निर्णय सच्चाएको छ । 
 
आज कार्यालयको सुरुवाती समयमा सन्दीपको आवेदन अस्वीकार गरेको दूतावासले पछि उनलाई बोलाएरै पुनः अन्तर्वार्ता लिइ भिसा दिएको हो । 
दूतावासले नै पुनः सन्दीपलाई बोलाइ भिसा दिएको उनका मेनेजर रमण शिवाकोटीले बताएका छन।  भिसा दिने निर्णय भएपनि पासपोर्ट लिन भने दूतावासले दुईदिन पछि बोलाएको शिवाकोटीले बताएका छन् ।
 
फ्रान्चाइज लिगहरु खेल्न विश्वका विभिन्न देश पुगिसकेका उनलाई आज अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपले यसबारेमा सामाजिक सञ्जाल ट्वीटरमा लेखेपछि यो विषय चर्चित बनेको थियो । उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।
 
यसअघि पनि अमेरिकी दूतावासले नेपालमा नाम चलेका व्यक्तित्वहरुको भिसा बिनाकारण अस्वीकार गर्ने गरेको थियो । यो सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सन्दीपले बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्दैछन् । सीपीएल आगामी सेप्टेम्बर ४ मा सुरु हुँदैछ ।