नेपालका ६ प्रतिशत मानिसमा दीर्घकालीन मृर्गौला रोग

भाद्र ०३,२०७६

-

भदौ ३, २०७६ काठमाडौं । 
नेपालका ६ प्रतिशत मानिसमा दीर्घकालीन मृर्गौला रोग देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको तथ्याङअनुसार यस्तो पाइएको हो । अध्ययनमा सबैभन्दा बढी मृगौला रोगी गण्डकी प्रदेशमा भेटिएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४ दशमलव ७ प्रतिशत भेटिएको छ ।
 
उक्त अध्ययनले सबैभन्दा बढी सिओपिडीको समस्या ११ दशमलव ७ प्रतिशत मानिसमा देखिएको छ भने दोस्रोमा मधुमेहको समस्या ८ दशमलव ५ प्रतिशत र तेस्रोमा मृगौला रोग ६ प्रतिशत मानिसमा देखिएको हो । परिषदले सातै प्रदेशका १३ हजार २ सय जना मानिसमा अध्ययन गरेको थियो । जसमा तेस्रो नम्बरमा मृगौला रोग देखिएको हो । 
 
त्यसैगरी, प्रदेश १ मा ५ दशमलव २ प्रतिशत मानिस मृगौला रोगबाट पिडित हुने गरेको पाइएको छ भने प्रदेश २ मा ६ दशमलब ६ प्रतिशत छन् । प्रदेश ३ मा ६ दशमलव ५ प्रतिशत रहेका छन् भने प्रदेश ५ मा ५ दशमलव ७ रहेको छ । भने सूदुरपश्चिम प्रदेशमा ५ दशमलव ९ प्रतिशत विरामी रहेका छन् ।
 
मृगौला रोग विशेषज्ञहरुका अनुसार मृगौलाले शरीरमा रहेका विकारक पदार्थ  पिसाबमार्फत् बाहिर निष्कासन गर्दछ । तर कुनै पनि कारणले गर्दा यसरी छान्ने क्षमतामा ह्रास आएमा मिर्गौला रोग लागेको बुझ्नुपर्ने बताएका छन् ।
 
त्यस्तै, वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले विशेष गरेर अस्वस्थकर जीवनशैलीसँगै खानपानमा अशुद्धता साथै शारीरिक सक्रियतामा समेत कमीले पनि मिर्गौलाको समस्या बढिरहेको बताए ।
 
दुखाइ कम गर्ने औषधिको अत्याधिक प्रयोग, मूत्राशयमा बारम्बर संक्रमण, मधुमेह र रक्तचाप नियन्त्रणमा नआउँदा मृगौला फेल हुने गरेको उनले बताए ।
 
“हरेक ६–६ महिनामा रगत र पिसाब चेकजाँच गनुपर्छ,” उनले भने “स्वस्थ्य खानेकुरा खाने, हरेक दिन तीन लिटर पानी पिउने, शरीरको तौललाई नियन्त्रित र सन्तुलित राख्ने, जंकफुड नखाने, धूमपान तथा मद्यपान नगर्ने, दिनहुँ सात–आठ घण्टा एउटै समयमा सुत्ने र उठ्ने, दैनिक तीन लिटर पानी पिउने, हरेक दिन १० हजार पाइला हिँड्ने र  नियमित व्यायाम गर्ने गरेमा मृगौला जोगाउन सकिन्छ ।”
 
मृगौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले शरीर सुनिने, पिसाब साबुनको फिँजजस्तो आउने र कम्मर छेउमा मिर्गौला भएको ठाउँमा दुख्ने आदि समस्या देखिएमा तुरुन्त उपचार जानुपर्ने बताए ।
 
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा करिब ३० लाख व्यक्ति कुनै न कुनै मिर्गौला रोगको जोखिममा छन् । तीमध्ये ३० हजार व्यक्तिको हाराहारीमा मिर्गौला नराम्ररी बिग्रने गरेको छ । नेपालमा प्रतिवर्ष तीन हजार जना डायलासिस सेवा लिइरहेका संगठनको तथ्याङकले देखाउँछ ।