विभिन्न सन्धि-सम्झौताहरु पुनरावलोकन गर्ने निष्कर्ष गर्दै नेपाल-भारत संयुक्त बैठक सम्पन्न

भाद्र ०५,२०७६

-

भदौ ५,२०७६ काठमाडौं ।
नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठक सम्पन्न भएको छ ।
 
बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकरले गरेका थिए । 
 
बैठकमा दुबै मुलुक व्यापार, पारवहन र रेल सेवाहरुसम्बन्धी सन्धि-सम्झौताहरु पुनरावलोकन गर्ने प्रारम्भिक निष्कर्षमा सहमत भएका छन् ।
 
दुबै मुलुकले स्थल, हवाई र जलमार्गको कनेक्टिभिटीलाई बढाउने प्रतिबद्धता पनि जनाएका छन् ।
 
रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने कामलाई अघि बढाउने, नेपालका पाँच नाकासम्म रेलमार्ग विस्तार गर्ने र कोलकाता बन्दगाहबाट गंगा नदी हुँदै नेपालको कोशी र नारायणीसम्म मझौला खालको पानी जहाज संचालन गर्ने काममा भएका प्रगतिमा दुबै पक्ष सन्तुष्ट भएको बैठकपछि परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 
त्यसैगरि जलस्रोत, पारवहन, वाणिज्य, शिक्षा, कृषि क्षेत्रमा भएको साझेदारीलाई पनि अघि बढाउने सहमति गरेको छ । बैठकमा भारतीय विदेशमन्त्री जयशंकरले लामो समयपछि नेपालमा राजनीतिक स्थिरता आएको र यसको निरन्तरता भारतको इच्छा भएको बताए ।
 
भारतले सँधै नेपालको हित चाहन्छ भन्दै उनले नेपाल भारतको विशेष मित्र हो र उसको हित भारतकै हित हो भने ।
 
बैठककै क्रममा भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारले दुई अर्ब ४५ करोड रुपैंयाको चेक नेपाललाई हस्तान्तरण गरेको छ । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले चेक हस्तान्तरण गरे ।
 
यसैगरी हुलाकी राजमार्ग निर्माणका लागि भारतले १ अर्ब २९ करोड रुपैंयाको चेक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । त्यसैगरी बैठकमा नेपाल र भारतबीच खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।  
 
भारतको खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरणका महानिर्देशक राजीवकुमार जैन र खाद्य प्रविधि तथा गुणस्तर विभागका महानिर्देशक मतिना जोशी वैद्यले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।