नेशनल अस्पताल सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचार सुरु

भाद्र ०६,२०७६

-

भदौ ६,२०७६ काठमाडौं ।
 
मृगौलाको समस्याका कारण ‘एन्डीबडी’ को मात्रा बढेर सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरस्थित नेशनल अस्पतालमा उपचार सुरु भएको छ । प्रधानमन्त्रीको अवस्था सामान्य रहेको चिकित्सकको भनाइ छ ।
 
प्रधानमन्त्री ओली स्वास्थ्योपचारका लागि बैंकक हुँदै विहीबार सिंगापुर पुगेका हुन् । उनी करिब ९-१० दिनसम्म अस्पतालमा रहने बताइएको छ ।
 
प्रधानमन्त्रीको उपचारटोलीमा संलग्न निजी चिकित्सक डा. दिव्या सिंहले शुक्रबार साँझ सिंगापुरबाट नेपाली सञ्चारमाध्यममा उपचार सुरु भएको बारे जानकारी दिएकी हुन ।
 
प्रधानमन्त्री केपी शर्मा ओली यसअघि साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरमा उपचार गराएर स्वदेश फर्किएका थिए । मृगौला प्रत्यारोपणपछि प्रयोग भइरहेको औषधि परिवर्तन गरिएको हुनाले त्यसको ‘रियाक्सन’ बुझ्न र एन्डीबडीको मात्रा घटाउने उपचार विधिका लागि उनी विहीबार दोस्रोपटक सिंगापुर पुगेका हुन् ।