आजदेखि नेपाल-जापान सिधा हवाई उडान सुरु
-
भदौ १०,२०७६ काठमाडौं ।
नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान थाल्दैछ । त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेछ ।
निगमका उपमहाप्रबन्धक गणेशबहादुर चन्दका अनुसार राति २ः३० बजे हुने पहिलो उडानमा करिब ९० यात्रु सहभागी हुँदैछन् । यात्रु संख्या बुधबार बेलुकासम्म तय हुनेछ ।
साथमा २५ जनाको नेपाली टोली पनि जापान जाँदैछ । टोलीका नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गर्ने भएका छन् । पहिलो उडानमा मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु र व्यापारिक साझेदारहरुलाई पाहुनाका रुपमा सहभागी गराइनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यरातमा औपचारिक कार्यक्रम गरी टोलीलाई विदाई गरिने उपमहाप्रबन्धक चन्दले जानकारी दिए । जापानबाट नेपाल आउने क्रममा पनि औपचारिक कार्यक्रम गरी पहिलो उडानका यात्रुहरुलाई स्वागत गरिनेछ ।
नेपाल एयरलाइन्सले वाइडबडी जहाज ए ३३०–२०० जहाजले यो रुटमा उडान गर्नेछ । वाइडबडीको यो पहिलो लामो दूरीको उडान हुनेछ, जसमा एकतर्फी उडान समय नै साढे ६ घण्टाको हुने नेपाल एयरलाइन्सले जनाएको छ ।
नेपाल एयरलाइन्सकै लागि भने ओशाका पुरानै गन्तब्य हो । तर यसअघि सिधा उडान भएको थिएन ।
काठमाडौंबाट चीनको सांघाईमा ट्रान्जिट उडान गरी जापान जाने गरेको थियो । ३० अक्टोवर १९९४ मा नेपाल एयरलाइन्सले जापानमा पहिलो उडान गरेको थियो ।