Trending :
 

संसदका सबै गाडीमा कमसल सामानको प्रयोग !

मर्मत गरेर पनि नभए फिर्ता पठाउन र फिर्ता नगरे आपूर्तिकर्तालाई कारबाही गर्न सिफारिस:

भाद्र १७,२०७६

-

भदौ १७,२०७६ काठमाडौं ।
संघीय संसदले खरिद गरेको ११ वटा गाडीमा देखिएका कमजोरीबारे अध्ययन गर्न गठित छानविन समितिले सबै गाडीमा कमजोरी देखिएको बताएको छ ।
 
संघीय संसदका विभिन्न समितिका सभापतिका लागि खरिद गरिएको ११ वटा गाडीमध्ये सबैमा कुनै न कुनै समस्या देखिएको छानबिन समिति संयोजक रामनारायण विडारीले बताएका छन् ।
 
मान्यतया सबै गाडीमा कुनै न कुनै कमजोरी देखिएको छ, ३-४ वटामा अलि बढी समस्या देखियो । एउटामा गियरमा समस्या देखियो । एउटामा छतमा समस्या देखियो, गाडीको बडी बिकल्डिङ गर्दा लापरबाही गरेको पाइएको छ । स्टिकर र डोर भाइजर पनि कम गुणस्तरको देखियो’ उनले भने ।
 
समितिले प्राविधिक इन्जिनियर, सार्वजनिक खरिद अनुगमन कार्यालयका विशेषज्ञ र आपूर्तिकर्तासँग छलफल गरी प्रतिवेदन तयार पारेको हो । उक्त प्रतिवेदन मंगलबार सभामुख कृष्णबहादुर महरालाई बुझाइएको छ ।
 
समितिले ती गाडी सामान्य मर्मत गरेर हुने भए ७ दिनभित्र मर्मत गर्न लगाउन, ७ दिनमा मर्मत गरेर नसक्ने भए फिर्ता पठाउन र फिर्ता नगरे आपूर्तिकर्तालाई कारबाही गर्न सिफारिस गरेको छ ।
 
समिति सभापति विडारीले गाडी खरिदमा आर्थिक चलखेलको भने पुष्टि नभएको बताए । उनले भने,अनुमान गर्ने कुरा हुन्, आर्थिक चलखेल कागजमा पुष्टि हुन सकेन ।’
 
संघीय संसदले खरिद गरेको गाडीमा विभिन्न खालका कमजोरी देखिएपछि उक्त विषयमा छानबिन गर्न १५ दिनको समय दिएर समिति गठन गरिएको थियो । सांसद विडारी संयोजक रहेको समितिमा समितिमा सांसदहरू कृष्णभक्त पोखरेल, कृष्णप्रसाद दाहाल, भरत कुमार शाह र तारादेवी भट्ट सदस्य रहेका छन् ।
 
सभामुख कृष्णबहादुर महराले भने गाडी खरिदमा ठूलो प्रक्रियागत कमजोरी नदेखिएको बताए ।