Trending :
 

क्यानोनिङ महोत्सव जेठ २६ र २७ मा हुने

जेठ २२,२०७४

-

जेठ २२ -

नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोटको भुलभुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सव गर्ने भएको छ । ककनी गाउँपालिका वडा नं ५ मा जेठ २६ र २७ मा उक्त महोत्सव हुन लागेको हो ।

नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्ट एसोसिएसन नेपाल तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा हुने सो महोत्सवमा स्वदेशी, विदेशी गरी तीनसय खेलाडी सहभागी हुने आयोजकले जानकारी दिइएको छ ।

नेपालमा पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ जस्ता साहसिक पर्यटकीय गतिविधि लोकप्रिय भइरहेका बेला पछिल्लो समयमा पहाडका अग्ला झरनाबाट डोरीको सहायतामा झर्दै खेलिने क्यानोनिङ प्रति स्वदेशी तथा विदेशीको आकर्षण बढाउन महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष राजेन्द्रबहादुर लामाले जानकारी दिए । ‘प्राकृतिक दृश्यावलोकन र पदयात्रासहित साहसिक पर्यटकीय गतिविधिमा रुचि राख्ने स्वदेशी, विदेशी युवालाई आकर्षित गर्न महोत्सव आयोजना गरेका हौं', अध्यक्ष लामाले भने ।

नुवाकोट, सिन्धुपाल्चोक, मनाङ, काभ्रेपलाञ्चोक, स्याङ्जा, लमजुङ, कास्की, ओखलढुङ्गा र काठमाडौँसहितका विभिन्न जिल्लाका झरनामा क्यानोनिङ खेलिने गरीएको छ । नेपालका २२ बढी झरनामा व्यवस्थित अन्वेषण गरेर क्यानोनिङ खेल्न मिल्ने व्यवस्था मिलाइएको अध्यक्ष लामाले बताए ।

नुवाकोटको भुलभुलेमा आयोजित तेस्रो महोत्सवका सन्दर्भमा सातजना क्यानोनिङका प्रशिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम समेत दिइने छ । सन् २०१३ मा भोटेकोसीमा पहिलो महोत्सव गरेको संघले गत वर्ष नुवाकोटको शिवपुरी गापाको थानापती स्थित छहरे झरनामा दोस्रो महोत्सव गरेको थियो ।