Trending :
 

कागेश्वरीमा काग पूजा गर्नेहरुको भीड

भाद्र २०,२०७६

-

भदौ २०,२०७६ काठमाडौं ।
भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ। 
 
कागेश्वरीमा आई पूजाआजा एवं दर्शन गरेमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ। श्रावण शुक्ल पूर्णिमामा गोसाइँकुण्ड दर्शन गरी आएका भक्तजनले यहाँ आएर जल चढाएपछि मात्र व्रत सिद्ध हुने विश्वाससमेत छ। 
 
मन्दिरमा २२७ किलोको पित्तललगायत अष्ट धातुबाट बनेको कागको मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ। पूर्वसभासद् रामेश्वर फुयाँलले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट छुट्याएको बजेट र कागेश्वरी मनोहरा नगरपालिकाको गरी १३ लाखको लागतमा २२७ किलो पित्तललगायत अष्ट धातुबाट यो मूर्ति बनाइएको हो ।
 
यो मूर्ति नेपालकै ठूलो कागको मूर्ति हो । नेपालको ठूलो कागको मूर्तिमा पूजा गर्न भक्तजनको भीड लागेको छ । २०४८ को संसदीय निर्वाचमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद एवं तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले संसद्मा बोल्ने क्रममा पनि यो क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्ने बताएका थिए। जननेता भण्डारीको यो विचार,संसद्मा मदन भण्डारी नामक पुस्तकमा पनि उल्लेख गरिएको छ। 
 
नगरपालिकाको ब्रह्मखेल-सातघट्टे-गागलफेदी-शहीद उद्यानसम्मको सडक निर्माणका लागि ३ नं प्रदेश सरकारले ३८ करोड बजेट छुट्याएर काम सुरु गरेको छ।यो सडकलाई गोसाइँकुण्डसम्म विस्तार गर्ने लक्ष्य रहेको प्रदेशसभा सदस्य फुयाँलले बताए।