यो वर्षको दशैलाई भारतबाट खसीबोका आयात नगरिने
-
भदौ २१, २०७६ काठमाडौं ।
यस वर्ष भारतबाट खसीबोका आयात ठप्प भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०७५ साउनमा दसैंलाई लक्षित गरी ३७ करोड २१ हजार रुपैयाँका ४५ हजार ७ सय ९८ खसीबोका आयात भएका थिए । २०७६ भदौ २० गतेसम्म आयात ठप्प छ ।
विभाग स्रोतका अनुसार यस वर्ष भदौ २० गतेसम्म एउटै खसीबोका आयात भएको छैन । ‘नयाँ आर्थिक वर्ष लागेपछि आजको मितिसम्म आयात भएको छैन,’ विभागका एक अधिकारीले भने, ‘खुला सीमाका कारण अवैध आयात भएको हुन सक्छ ।’
पशु सेवा विभागले क्वारेन्टाइन ऐन फागुन ३ गतेदेखि कार्यान्वयन गरेको छ । यो व्यवस्थासँगै सम्बन्धित मुलुकबाट पशु चौपाया स्वस्थ भएको प्रमाणित कागजपत्र बनाउनुपर्छ ।
कागजपत्रमा निर्यातयोग्य, रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित हुनुपर्छ । यो व्यवस्थाला कडाइ गरेसँगै खसीबोका आयात कम भएको थियो । नयाँ आर्थिक वर्ष लागेपछि आयात ठप्प छ । व्यवसायीले भन्सार कडाइलेगर्दा तस्करीको बाटोबाट खसीबोका आयात भइरहेको अनुमान गरेका छन् ।
खुला सीमाका कारण परीक्षणबिनै दैनिक ६र७ वटा गर्दै सयौं संख्यामा भित्र्याइएको छ,’ काठमाडौं चौपाया खरिद–बिक्री प्रालिका अध्यक्ष जनक खड्काले भने, ‘चोरी तस्करी मौलाउँदै गएको छ ।
सरकारले कडाइको नामकरण दिए पनि भेटेरिनरी परीक्षणबिनै झन् आयात भइरहेको छ ।’ भारतबाट खसीबोका आयात ठप्प हुँदा जिउँदो खसीको मूल्य ७ सय १५ रुपैयाँ पुगेको थियो ।
त्यसपश्चात् तस्करी भएर बजारमा भित्रिन थाल्यो । बजारमा खसीबोका भित्रिएपछि प्रतिकिलो ६ सय ५० रुपैयाँमा झरेको छ,’ चौपाया व्यवसायी संघ कलंकीका पूर्वअध्यक्ष दीपक थापाले भने । उनका अनुसार तस्करीबाट आयातित खसीबोका स्वदेशी भनेर महँगो मूल्यमा समेत बिक्री भएको छ ।
व्यवसायीका अनुसार आयातमा कडाई भएपछि नजिकिदै गरेको चाडबाडका लागि करिब ३० हजार खसीबोका अपुग हुने सम्भावना देखिएको छ । कान्तिपुर