प्रधानसेनापति थापाको सम्पत्तिः १० लाख मूल्य बराबरको हीराको हार र औंठी

भाद्र २४,२०७६

-

भदौ २४,२०७६ काठमाडौं ।
 
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
 
कार्यकालको एक वर्ष पूरा भएको अवसर पारेर मंगलबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
 
विवरणअनुसार थापासँग ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख रुपैयाँ मूल्य बराबरको हीराको हार र औंठी रहेको छ । ती गहनामध्ये पैतृक र श्रीमतीले किनेको देखाइएको छ ।
 
यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकमा २३ लाख नगद, ग्लोबल आइएमई बैंकमा ४२ हजार र श्रीमतीको नाममा ५० हजार नगद रहेको पनि विवरणमा उल्लेख छ ।
 
श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर रहेकोसमेत जनाइएको छ ।
 
काठमाडौंमा तीन ठाउँमा गरी झन्डै ६ रोपनी जग्गा, नवलपरासीमा १२ आना र लमजुङमा दुई ठाउँमा १३ रोपनी बढी जग्गा रहेको सम्पति विवरणमा देखाइएको छ ।
 
पत्रकार सम्मेलनमा प्रधानसेनापति थापाले नेपाली सेनाभित्र पनि सम्पत्ति विवरण बुझाउने चलन रहेको दाबी गर्दै राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएकाले यसअघि विवरण गोप्य राखिने गरेको बताए ।
 
‘अरुले गरेको गल्ती र अनैतिक लाभको पापको भारी बोक्दिनँ’
 
उनले सेनाभित्र पनि केही ‘घाउ’, ‘खटिरा’ हुनसक्ने भन्दै त्यस्ता घाउहरुको अवशेषले नेपाली सेनालाई सदा दुःख दिइरहने पनि बताए ।
 
आफू त्यस्ता घाउ–खटिरा पन्छाएर नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्न इच्छुक रहेको उनले उल्लेख गरे ।
 
अरुले गरेको गल्ती र अनैतिक लाभको पापको भारी आफूले नबोक्ने भन्दै उनले एकाध व्यक्तिले गरेको अपराधका कारण सेनाको प्रतिष्ठामा आँच आउन नदिने बताए ।