‘म्याराथन दौड’को उपाधि भीमबहादुर गुरुङलाई

भाद्र २५,२०७६

-

भदौ २५, २०७६ काठमाडौं। 
लिगलिगकोट सिरानचोक गोरखा दरवार खुल्ला म्याराथन दौड’ प्रतियोगिताको उपाधि आरुघाट गाउँपालिका थुमीका भीमबहादुर गुरुङले जितेका छन् ।
 
पूर्व सैनिक गुरुङले ३ घण्टा १७ मिनेट २ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेर पहिलो भएका हुन् । १ सय १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका गुरुङले एक लाख ५० हजार नगद पुरस्कार पाएका छन् ।
 
प्रतियोगितामा रुकुमका दुर्गाराज बुढा दोस्रो भएका छन् । उनले ३ घण्टा १७ मिनेट ४५ सेकेण्डमा निर्धारित दूरी पार गरेका हुन् । उनले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । ३ घण्टा ३० मिनेट २ सेकेण्डमा निर्धारित दुरी पार गर्दै रणवम दल गणका सविन तामाङ तेस्रो भए । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए ।
 
प्रतियोगितामा दशौं स्थानसम्म हासिल गर्ने सहभागीलाई पुरस्कार वितरण गरिएको छ । पालुङटार नगरपालिकाको लिगलिगकोटबाट शुरु भएको दौड सिरानचोक गाउँपालिकाको हर्मी, सिरानचोक हुँदै गोरखा नगरपालिकाको गोरखा दरबार पुगेर टुंगिएको हो ।
 
नेपाली सेना, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाले प्रतियोगिता आयोजना गरेका हुन् । नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।
 
प्रतियोगिताबाट नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० को कार्यक्रमलाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।