साउनदेखि हालसम्म करिब साढे पाँच हजार जनामा डेंगु संक्रण,६ जनाको मृत्यु
-
भदौ २६,२०७६ काठमाडौं।
गएको साउनदेखि हालसम्म करिब साढे पाँच हजार जनामा डेंगु देखिएको ईपिडिमियिोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । देशभर डेंगुबाट ६ जनाको मृत्यु भएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक करिब ४ सयको हाराहारीमा बिरामी आउने गरेका अस्पताल प्रशासनले जनाएको छ । जसमा करिब ७० प्रतिशतमा डेंगु पोजिटिभ देखिएको अस्पतालका चिकित्सकहरुले बताएका छन् ।
जनशक्ति र बजेट अभावका कारण डेंगु नियन्त्रणमा समस्या भएको महाशाखाका प्रमुख डा. विवेक लालले बताए । देशका ६२ जिल्लामा डेंगु देखिएको छ । सरकारले चालू आर्थिक २०७६–०७७ मा डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न ८५ वटा पालिकामा १ करोड ६६ लाख रुपैयाँ विनियोजन गरेको छ । केन्द्रमा भने १ करोड ७१ लाख वजेट विनियोजन गरिएको महाशाखाले जनाएको छ ।
आर्थिक वर्ष २०७४–०७५ मा देशभर ८ सय ११ जनामा मात्र डेंगु देखिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७३–०७४ मा २ हजार १ सय ११ जनामा डेंगुको संक्रमण देखिएको थियो भने आर्थिक वर्ष २०७२–०७३ मा एक हजार ५ सय २७ जनामा डेंगुको संक्रमण देखिएको थियो । सबैभन्दा बढी आर्थिक वर्ष २०७५–०७६ मा संक्रमण देखिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार बंगलादेशमा ५० हजार र श्रीलंकामा हजार मानिसमा डेंगुको संक्रमण देखिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनका अनुसार एक्कासि उच्च ज्वरो आउनु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, असाध्यै टाउको दुख्नु, शरीरमा बिमिरा आउनु, ढाड, जोर्नी तथा मांसपेशीहरु दुख्नु आदि डेंगुका लक्षण हुन् ।
विश्व स्वस्थ्य संगठनले एस्पिरिन, ब्रुसेट, फ्लेक्सोनजस्ता दुखाइ कम गर्ने औषधिहरुको प्रयोग नगर्न चेतावनी नै जारी गरेको छ । चिकित्सकहरुका अनुसार डेंगु अरु धेरै संक्रामक रोगहरुको तुलनामा घातक मानिँदैन ।
यदि सतर्कता अपनाए र समयमै उपचार पाए यसको मृत्युदर एक प्रतिशत भन्दा पनि कम हुन्छ । सतर्कता नअपनाउँदा भने जटिल हुने गरेको पाइन्छ । यसको विशेष एन्टिभाइरल औषधि हालसम्म नभएकोले लक्षणमा उत्पन्न हुने जटिलताहरुको आधारमा उपचार गर्दै जानुपर्ने अवस्था रहेको डा. पुनले बताए । संक्रमितमध्ये झन्डै १० प्रतिशतमा डेंगुले जटिलता गराउने गरेको पाइएको उनले जानकारी दिए ।
डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने हुँदा पानीका ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाक्ने, लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पूरै ढाकिने लुगा लगाउने, साना बालबालिकालाई जुनसुकै समयमा पनि झुलभित्र सुताउने, कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा फाल्ने आदि गर्नुपर्ने चिकितसकहरु बताउँछन् ।