ड्रोन आक्रमण पछि विश्वभर कच्चा तेलको मूल्य बढ्यो
-
भदौ ३०,२०७६ काठमाडौं ।
साउदी अरेबियाको तेल उत्पादक कम्पनीका विभिन्न संरचनामा ड्रोन आक्रमण भएपछि तेलको मूल्य गएको चार महिना यताकै सबैभन्दा बढी भएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबारको कारोबारको शुरुवातमा कच्चा तेलको मूल्य १९ प्रतिशत बढेको छ । यसका साथै एक ब्यारेलको मूल्य बढेर ७१ दशमलब ९५ डलर पुगेको छ ।
अमेरिकाले आफ्नो आपतकालीन भण्डारबाट कच्चा तेल निकालेको छ । यसले बजारमा थोरै भए पनि राहत मिल्नेछ । यद्यपि साउदी अरेबियाको पहिलाको हिसाबले तेल उत्पादन गर्नको लागि अझै केही हप्ता लाग्नेछ ।
साउदी अरेबियाको सरकारी तेल कम्पनी अरामले आक्रमणका कारण तेल उत्पादन घटेर प्रतिदिन ५ दशमलब ७ लाख ब्यारेल भएको जनाएको छ । अरामले अहिले आफूलाई विश्वकै सबैभन्दा ठूलो स्टक मार्केटका रुपमा स्थापित गर्न लागिरहेको बेलामा यो घटना भएको हो ।
लण्डनस्थित इन्टरफेक्स एजेन्सीका विश्लेषण प्रमुख अभिषेक कुमार भन्छन् साउदी अधिकारीले आगोलाई नियन्त्रण गरेको बताएका छन् । यद्यपि जुन नोक्सान भयो त्यो ज्यादै नै छ । तेल आपूर्ति सहज हुनको लागि केही हप्ता लाग्न सक्छ ।’’
न्यूयोर्कमा आरबीसी क्यापिटल मार्केटका माइकल ट्रन भन्छन्,‘‘सबै कुरा चाँडै ठीक हुनेछ । उत्पादनमा ६ प्रतिशत गिरावटलाई भने इन्कार गर्न सकिदैन ।’’
बीबीसीका कुटनीतिक मामिला संवाददाता जोनाथन मार्कस्को भनाइमा मध्यपूर्व पहिलादेखि नै अशान्त थियो । अहिले ड्रोन हमलाले यो अस्थिरतालाई अझ बढाइदिएको छ । हुती विद्रोहीले गएको शनिबार भएको सो आक्रमणको जिम्मेवारी लिएको छ ।
यद्यपि अमेरिकाले इरानलाई सो घटनाको जिम्मेवार भएको आरोप लगाउँदै आएको छ । उता इरानले भने अमेरिकी आरोपलाई अस्वीकार गरेको छ ।
यो घटनाक्रमले इरानले कुन हदसम्म हुती विद्रोहीलाई सहयोग गरिरहेको रहेछ भन्ने नयाँ बहस पनि सुरु भएको छ ।
पछिल्लोवर्ष संयुक्त राष्ट्र संघका विशेषज्ञले आफ्नो एक रिपोर्टमा यसतर्फ इशारा गरेको थियो । जसमा इरान र हुती विद्रोहीको शैली एकै खालको रहेको जनाइएको बीबीसीले जनाएको छ ।