जाजरकोटका अस्पतालमा औषधी नहुँदा उपचारमा समस्या
-
भदौ ३०, २०७६ काठमाडौं ।
सरकारले निस्शुल्क उपलब्ध गराउने सामान्य औषधी पनि जाजरकोटका अस्पतालमा पाइँदैनन्। जसको कारण जिल्ला अस्पताल जाजरकोटमा लामो समयदेखि उपचारमा समस्या भइरहेको छ।
दिनहुँ भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकी लगायतका विरामी बढिरहेका छन्। तर, यहाँ औषधीको चरम अभाव छ। अस्पतालले नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिनासम्म पनि औषधी खरिद गरेको छैन।
जिल्ला अस्पताललाई सरकारले ७२ प्रकारका औषधी निस्शुल्क दिने भने भनेको छ। तर, यहाँ सिटामोल, आइरन चक्की, ब्रोफिन, रेनीटेडीन, मेट्रो, एमोक्सीसिलीन, भुस्कोपान, कोर्टीन, भिटामीन बी कम्प्लेक्स, क्यामामीन लोसन, जीन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आर एल क्योमक्स, अक्सीटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रो, एसिलक, पोन्टक्स लगाएतका अत्यावश्यक औषधीको चरम अभाव छ।
मौसम परिवर्तनसँगै अस्पतालमा विरामीको संख्या बढ्दो छ। तर, निस्शुल्क पाउने औषधीसमेत नपाउँदा सेवाग्राही मर्कामा परेका छन्। दैनिक ६०÷७० जना भाइरल ज्वरोका मात्र विरामी यहाँ आउने गरेका छन्। डाक्टरले चेकजाँच गरेर औषधी लेखिदिन्छन्। तर, विरामीले औषधी पाउँदैनन्। अन्नपूर्ण