टेलिकमको फोरजी सेवा २० देखि २५ वटा शहरमा दशैंअघि नै सुरु गर्ने तयारी

आश्विन ०४,२०७६

-

असोज ४,२०७६ काठमाडौं ।
नेपाल टेलिकमले दशैं आसपास नै फोरजी सेवा विभिन्न शहरमा विस्तार गर्ने तयारी गरेको छ । देशका २० देखि २५ वटा शहरमा दशैंअघि नै सेवा सुरु गर्ने गरी तयारी भएको हो ।
 
विभिन्न स्थानमा फोरजीको परीक्षण सुरु भइसकेको टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । अधिकारीका अनुसार कोर नेटवर्कको परीक्षण गत साताबटै सुरु भएको छ भने अब सिस्टम माइग्रसेसन गरेर रेडियो एक्सेस नेटवर्कको परीक्षणको काम यस साताबाट सुरु भएको छ ।
 
गत माघमा नै ठेकेदार कम्पनीहरुसँग टेलिकमले फोरजी सेवा विस्तारको सम्झौता गरेको थियो । एक वर्षमा काम सिध्याउने गरी उक्त सम्झौता भएको छ । लक्ष्यअनुसार अब ४ महिनाभित्रै तोकिएका सबै स्थानमा टेलिकमले फोरजी नेटवर्क सबैतिर विस्तार गरिसक्नुपर्छ ।
 
अन्य सेवामा निजीभन्दा अगाडि रहेको टेलिकम फोरजी सेवामा चाहिँ पछि परेको छ । निजी क्षेत्रको एनसेलले फोरजी बजारको करिब ७४.३ प्रतिशत हिस्सा ओगट्दा टेलिकमको हिस्सा २०.३ प्रतिशत मात्र छ ।
 
टेलिकमभन्दा ढिलो सेवा सुरु गरेको स्मार्ट टेलिकमले समेत ५.४ प्रतिशत बजार हिस्सा बनाइसकेको छ । जति ढिलो भयो, टेलिकमलाई ग्राहक तान्न उति कठिन हुनेछ ।
 
पछिल्लो समय इन्टरनेट प्रयोगकर्तामा फोरजीको आकर्षण बढ्दो छ । यो प्रविधिको फ्रिक्वेन्सी प्रभावकारी हुन्छ जसले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँछ ।
 
देशमा हाल फोरजीका ३९ लाख ४३ हजारभन्दा बढी प्रयोगकर्ता छन् । त्यसमा झण्डै २९ लाख ३० हजार प्रयोगकर्ता एनसेलका हुन् । टेलिकमसँग जम्मा ८ लाख मात्रै फोरजीका प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमले करिब २ लाख १३ हजार ग्राहक तानेको छ ।
 
टेलिकमले काठमाडौं र पोखरापछि अन्य क्षेत्रमा फोरजी विस्तारमा ढिलाइ गर्दा धेरै ग्राहकहरु एनसेललाई रोज्न बाध्य भएका छन् ।
 
पछिल्लो समय इन्टरनेट प्रयोगकर्तामा फोरजीको आकर्षण बढ्दो छ । यो प्रविधिको फ्रिक्वेन्सी प्रभावकारी हुन्छ । जसले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँछ । यसले मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइलहरु सजिलै र छिटो आदान-प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्रीहरु सजिलै हेर्न सकिन्छ ।
 
टेलिकमको फोरजीरएलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (र्‍यान) को लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङले जिम्मा पाएका छन् ।
 
टेलिकमले नेपालभर ६५ लाख क्षमताको फोरजीरएलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुईवटा र्‍यान नेटवर्क तयार गर्नेछ । यसका लागि मुख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ । र्‍यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ ।