Trending :
 

टिका लगाउदा दक्षिणा मैलो नपार्न राष्ट्र बैंकको अनुरोध

आश्विन ०५,२०७६

-

असोज ५,२०७६ काठमाडौं। 
आउँदो शुक्रबारदेखि नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ तथा सुकिला नोट साट्दैछ । 
 
१७ गतेसम्म राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका कार्यालय र अरु सरकारी बैंकका शाखाबाट नयाँ तथा सुकिला नोट लिन सकिने राष्ट्र बैंकले जनाएको छ । 
 
एक जनाले ५, १०, २०, ५० र १०० दर एक एक पाकेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैँयासम्म साट्न मिल्ने राष्ट्र बैंकले जनाएको छ ।
 
बर्सेनि नयाँ नोट बजारमा पठाइने भए पनि कम समयमा नै नोट झुत्रा हुन थालेपछि राष्ट्र बैंकले दशैँमा यसको सम्भार गर्न अनुरोध गरेको हो । यसका लगि दक्षिणा लेनदेन गर्दा रंग तथा अबिर नलगाउन राष्ट्र बैंकले अनुरोध गरेको छ । 
 
पूजाआजा गर्दा पण्डितहरुले नोट पानीमा भिजाउने र रंग लगाउने गरेको धेरै पाइएको छ, अबदेखि त्यसो नगर्नुहोला, अनि दशैँमा धेरै नोट कच्याककुचुक पारेको देखिन्छ, दक्षिणा लेनदेन गर्दा नोट मैलो नपार्न अनुरोध छ’, राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भन्नुभयो । 
 
उहाँले केटाकेटीहरुलाई पनि नोट जतनबारे जानकारी दिन अनुरोध गर्नुभयो । 
 
यस्तै नोटमा जथाभावी केरमेट गर्ने, मैलो बनाउने, च्यात्ने, आकार बिगार्ने लगायतका काम गर्नेलाई कारबाही गर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।  उज्यालो