अमेरिकामा मोदी र ट्रम्पको त्यो ह्यानचेक...!

आश्विन ०६,२०७६

-

असोज ६, २०७६  काठमाडौं ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार (नेपाली समय अनुसार गएराति)अमेरिकाको टेक्सासको ह्युस्टनमा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा भारतीय मूलका अमेरिकीलाई सम्बोधन गरेका छन् । मोदी र ट्रम्प स्थानीय एनआरजी स्टेडियममा गएर भारतीय र अमेरिकी समुदायलाई सम्बोधन हुन् । 
 
संयुक्त राष्ट्र संघको ७४ औं महासभामा भाग लिन जाने क्रममा मोदी अहिले सप्ताहव्यापी अमेरिका भ्रमणमा छन् । यही क्रममा ह्युस्टनमा यो कार्यक्रम बनेको हो । कार्यक्रममा सहभागी हुनका लागि निमन्त्रणा गर्नासाथ ट्रम्प पनि सो कार्यक्रममा सहभागी हुन राजी भएका छन् ।
 
मोदीले ट्रम्पको सो उपस्थितिलाई भरपुर रुपमा अमेरिकालाई खुसी पार्ने अवसरका रुपमा उपयोग गरिदिए । उनले अर्को वर्ष अमेरिकामा हुन लागेको चुनावको सन्दर्भमा मञ्चबाटै भनिदिए,“अबकी बार ट्रम्प सरकार ।”
 
त्यतिबेला ट्रम्प भने मुस्कुराएका थिए । मोदीले त्यसरी ट्रम्पको चुनाव प्रचार गरिदिएकोमा भारतमा विपक्षी कांग्रेस पार्टीका नेताहरुले भने आलोचना गरेका छन् । कांग्रेस नेता तथा पूर्वसंघीय मन्त्री आनन्द शर्माले  मोदीले त्यसरी बोल्नु भारतको विदेश नीति विपरीत भएको जनाएका छन् । उनले मोदीलाई अमेरिकाको चुनावमा आफूलाई स्टार प्रचारकका रुपमा अघि सारेको भन्दै आलोचनासमेत गरेका छन् । 
 
झन्डै ५० हजार मानिसले खचाखच भरिएको स्टेडियममा ‘मोदी मोदी’ भन्ने नारा घन्काइएको थियो । यद्यपि हलको बाहिर कतिपयले ‘गो ब्याक मोदी’ भन्ने नारासमेत लगाएका थिए । तर, भित्रको माहौल भने ट्रम्पलाई पनि प्रभावित पार्ने खालको भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 
मोदीले त्यहाँ अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय अमेरिकीको सामुन्नेमा भारतमा सबै राम्रो भएको बताएका थिए । मोदीले काश्मीर मामिलामा संविधानको धारा ३७० खारेजलाई ठूलो काम भएको बताए । यसबारेमा उनले पाकिस्तानको भने नाम लिएनन् ।
 
उता ट्रम्पले भारत र अमेरिका कट्टर इश्लामी आतंकवादसँग लड्न प्रतिबद्ध भएको जनाएका थिए । मोदीले आफ्नो सम्बोधनको शुरुवात ट्रम्पको तारिफबाट गरेका थिए ।
 
उनले भनेका थिए,“हामीसँग खास व्यक्ति उपस्थित हुनुहुन्छ । उहाँको बारेमा कुनै परिचयको आवश्यकता छैन । संसारका सबै मानिसले उहाँलाई चिन्दछ । यो महान देशका सबै मानिस उहाँ सो पदमा बस्नुअघि उहाँबारेमा परिचित थिए । उहाँलाई यहाँ स्वागत गर्नु मेरो लागि सम्मानको विषय हो ।”
 
मोदीले ट्रम्पलाई ह्वाइट हाउसमा रहेका भारतका सबैभन्दा असल मित्र भएको बताए । उनले भने,“उहाँलाई मैले धेरै पटक भेटेको छु । उहाँ हरेक पटक उपलब्ध हुनुभयो । उहाँमा आफ्नोपन पाएको छु ।”
 
मोदीले ट्रम्प फेरि अमेरिकालाई महान बनाउन लागिपरेको जनाएका थिए ।
 
ट्रम्पले पनि सो अवसरमा त्यहाँ उपस्थित भारतीय अमेरिकी नागरिकलाई धन्यवाद दिएका थिए । हालैको लोकसभा निर्वाचनमा विजय हासिल गरेकोमा मोदीलाई बधाई पनि दिएका थिए ।
 
उनले अमेरिकाका नागरिकको रुपमा भारतीय मूलका मानिसलाई पाउँदा आफूले गर्व गरेको बताएका थिए । मोदी र आफू आफ्ना नागरिकको लागि समर्पित भएको समेत उनले बताए । उनले मोदीका योजनाका कारण भारतका ३० करोड मानिस गरिबीबाट माथि उक्लिएको जनाए । उनले सो अवसरमा भारतलाई अमेरिकाले रक्षा सहयोग गर्ने समेत बताएका थिए । 
 
उनले आगामी नोभेम्बर महिनामा दुवै देशका स्थल, जल र वायुसेनाको युद्धाभ्यास हुनेसमेत जनाए । उनले आफूहरु इश्लामी कट्टरपन्थीबाट रक्षाका लागि प्रतिबद्ध रहेको समेत जनाए । ट्रम्पको यो भनाइलाई भारतीय मिडियामा भने पाकिस्तानको उनले आलोचना गरेको अर्थमा व्याख्या गरेको पाइएको छ । 
 
ट्रम्पले आफ्ना जनताको रक्षाका लागि आफ्नो सीमाको रक्षा गर्नु जरुरी रहेको उल्लेख गर्दै अमेरिका र भारतका लागि सीमाको सुरक्षा निकै महत्वपूर्ण रहेको जनाएका थिए ।
 
आइतबारको यो कार्यक्रमको तयारी व्यापक रुपमा गरिएको थियो । त्यहाँ अमेरिकी सांसदहरु पनि सहभागी भएका थिए । यो कार्यक्रमले भारत र अमेरिका सम्बन्धलाई निकै गहिरो भएको देखाउन खोजेको छ । 
 
यस क्रममा मोदीले ट्रम्पसँग मंगलबार दुईपक्षीय वार्ता पनि गर्दैछन् । उनले संयुक्त राष्ट्रसंघको महासभालाई पनि सम्बोधन गर्दैछन् । काश्मीरको विषयलाई लिएर अहिले भारत र पाकिस्तानबीच तनावको वातावरण भइरहेको बेलामा उनले राष्ट्र संघको महासभामा सम्बोधन गर्न लागेका छन् । 
 
पाकिस्तानले यो मामिला अन्तर्राष्ट्रिय रुपमा उठाउन खोजिरहेको समयमा मोदी र ट्रम्पबीचको यो मित्रवत सम्बन्धले पाकिस्तानलाई भने केही अप्ठेरो पर्ने संकेत पाइएको छ । 
 
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन गएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने ट्रम्पलाई आज भेट्ने कार्यक्रम रहेको छ ।  
भारतमा अर्थव्यवस्थाको अवस्था अहिले राम्रो छैन । समस्याबाट गुज्रिरहेको अर्थव्यवस्थालाई मजबुत बनाउनका लागि त्यहाँको सरकार प्रयास गरिरहेको छ । 
अमेरिका र भारतबीच अहिले सामान आयातमा लगाइएको करले पनि तनावको अवस्था विद्यमान रहेको छ । 
 
भारतले जुन महिनामा २८ वटा अमेरिकी उत्पादनमा करको दर बढाएको थियो । यसभन्दा पहिला अमेरिकाले भारतलाई दिएको व्यापारमा विशेषाधिकारलाई फिर्ता गरेको थियो । पछिल्लोपटक दुवै ठूला नेताको वार्तालापबाट निस्कर्ष के निस्कन्छ भन्ने कुरा चाहिँ प्रष्ट भएको छैन । 
 
ट्रम्पको राजनीतिक चासो
 
ट्रम्प आइतबारको कार्यक्रममा जानुको राजनीतिक कारण रहेको बताइएको छ । किनकि त्यहाँ सन् २०२० मा निर्वाचन हुँदैछ । त्यस कार्यक्रममा उनी जानु भारतीयलाई प्रभावित पार्ने ठूलो अवसर पनि हो । अझ मोदीले चुनाव नै प्रचार गरिदिएका छन् ।
 
दोस्रो कुरा दुवै मुलुकबीच व्यापारको समस्या छ । ट्रम्प भारतको केही नीतिबाट असन्तुष्ट छन् । अमेरिकाले भारतको करका कारण एकसय अर्ब डलर नोक्सानी बेहोर्नुपरेको बताइएको  छ । भारतको निर्यात अमेरिकाको तुलनामा धेरै छ । 
 
यस्तो अवस्थामा दुवै देशको करको असर काश्मीरको विषयमा पर्न सक्नेछ । यदि व्यापारको विषयमा अमेरिकासँग कुनै सम्झौता भएमा त्यसको फाइदा काश्मीरको मुद्दामा भारतलाई पर्नेछ । बीबीसी तथा एजेन्सी