पाकिस्तानमा ६.३ म्याग्नीच्यूडको भूकम्पः ८ जनाको मृत्यु, भारतमा समेत धक्का
-
असोज ७, २०७६ काठमाडौं ।
उत्तरी पाकिस्तानमा मंगलबार गएको भूकम्पमा परी आठजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो ६.३ म्याग्नीच्यूडको भूकम्प गएको इन्डियन मेट्रोलोजीकल डिपार्टमेन्टले जनाएको छ ।
भूकम्पमा परी एक सयभन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरु हेर्दा त्यहाँ घरहरु भत्किएका छन् भने सडकमा चिरा परेको छ ।
भारतको नजिकैको सहर पाकिस्तानको मिरपुरमा बढी क्षति भएको छ । जिल्ला आयुक्त मोहमम्द तायबले आठजनाको मृत्यु भएको र एक सयभन्दा बढी घाइते भएको पुष्टि गरेका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको उनले जानकारी दिएका छन् ।
पाकिस्तानका मेजर जनरल असिफ गफूरले विमानमा औषधीसहित क्षतिग्रस्त क्षेत्रमा सेना परिचालन गरिसकेको बताएका छन् । उनले ट्विटमा लेखेका छन्, हाम्रो सम्पूर्ण ध्यान उद्धारमा केन्द्रित भएको छ । जहाँ मानिसहरुलाई तत्काल साहयताको खाँचो छ हामी त्यहाँ खटिएका छौं ।
भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीमा समेत महसुस गरिएको थियो । भूकम्पको धक्का काश्मीर, पञ्जाबको चन्डीगढ र उत्तराखण्डको देहरादूनसम्म महसुस गरिएको थियो ।
त्यसैगरी पाकिस्तानको इस्लामावाद, पेसावर, रावलपिन्डी र लाहूरमा भूकम्पको धक्का महसुस गरिएको एनडी टिभिले जनाएको छ ।
पाकिस्तानी सञ्चारमाध्यम डनले भने ५.८ म्याग्नीच्यूडको भूकम्प गएको उल्लेख गरेको छ ।
यसअघि सन् २००५ मा पाकिस्तान प्रशासित काश्मीरमा ठूलो भूकम्प गएको थियो । जसमा करिब ८० हजार मानिसले ज्यान गुमाएका थिए ।