भन्सारका कर्मचारीलाई निर्यात गरिने बस्तुलाई प्राथमिकता दिन अर्थमन्त्रीको निर्दशन

आश्विन ०८,२०७६

-

असोज ८,२०७६ काठमाडौं ।
अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता, पारदर्शीता र कुशलता कायम गरी काम गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन् ।
 
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउन व्यवसायी मैत्री रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । 
 
पर्यटकका लागि पहिलो प्रभाव पर्ने स्थल बिमानस्थल भएकाले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी तयारी गर्न नागरिक उडड्यन विभागसँग पर्याप्त सहकार्य गर्नुपर्ने उनको भनाई छ । 
 
मन्त्री खतिवडाले विमानस्थलमा भौतिक पूर्वाधारको समस्यालाई नागरिक उडड्यन प्राधिकरणसँग सहकार्य गरेर व्यवस्थापन गरिने बताए । उनले भन्सारमा रहेका मालवस्तु तथा सामानहरुको समयमै निकासी तथा लिलामी गर्न तथा काम नलाग्ने सामान स्टलमा नराख्न निर्देशन दिएका छन् ।
 
उनले राजस्वको लक्ष्य पुरा गर्न आवश्यक जनशक्तिको व्यवस्थापनमा अर्थ मन्त्रालय र भन्सार विभागले ध्यान दिनसमेत निर्देशन दिए ।
 
व्यापार घाटा घटाउन निर्यात हुने मालवस्तुलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले जाँचपास प्रक्रियालाई सरल, छिटो र चुस्तदुरुस्त बनाउन सुरक्षा निकाय, अध्यागमन, प्राधिकरण, भन्सार लगायतको सहकार्य तथा सहयोग आवश्यक रहेको बताऐ । 
 
स्थलगत निरीक्षणमा भन्सार विभागका महानिर्देशक सुमन दाहाल, अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख झक्कप्रसाद आचार्य, त्रिविका सुरक्षा प्रमुख लगायतको सहभागिता थियो ।