क्यानको नयाँ नेतृत्वका लागि आज साधारणसभा,शनिबार चुनाव

आश्विन १०,२०७६

-

असोज १०,२०७६ काठमाडौं ।
नेपाल क्रिकेट संघ क्यानको चुनावी साधारणसभा शुक्रबार हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघलाई प्रतिबन्ध लगाएपछि हुन लागेको यो सधारणसभालाई निकै चासोका साथ हेरिएको छ ।
 
क्यानको नयाँ नेतृत्वका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्दले इच्छा देखाएका छन् । शुक्रबार साधारणसभाको उद्घाटन शत्र हुने छ भने शनिबार चुनाव हुने छ । उद्घाटन शत्र दिउँसो पौने १ बजेदेखि सुरु हुने छ ।
 
चुनावमा अध्यक्षमा पाण्डे र चन्दले प्रतिस्पर्धा गर्दा राजाबाबु श्रेष्ठ र मिङ्मा डाण्डु शेर्पाले उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने सम्भावना छ । सचिवमा अशोकनाथ प्याकुरेल र विनोद मैनालीले इच्छा देखाएका छन् भने कोषाध्यक्षमा रोशनकुमार सिंह र उपेन्द्र भट्टराईले प्रतिस्पर्धा गर्ने सम्भावना रहेको छ ।
 
१७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नका लागि ५९ जना मतदाता रहेका छन् । केन्द्रीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष १–१ जना हुनेछन् । बाँकी १३ जना सदस्य निर्वाचित हुनेछन् ।
 
४ वर्षको कार्यकालको चयनका लागि ५९ जनाको मताधिकार रहेको छ । जिल्लाबाट १–१ प्रतिनिधि गरेर ३९ र प्रदेशका २० जनाले भोट हाल्न पाउनेछन् ।
 
कार्यसमितिमा एक जना महिला अनिवार्य हुने व्यवस्था भएपछि सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि भएर आएकी जयन्ती भट्ट निर्विरोध निर्वाचित हुने भएकी छिन् । देशभरबाट उनी मात्रै महिला प्रतिनिधि भएर आएकी छिन् ।