चितवन मेडिकल कलेजले सहमति कार्यान्वयन नगरे पुनः आन्दोलन गर्ने विद्यार्थी अभिभावकको चेतावनी

आश्विन १२,२०७६




असोज १२,२०७६ काठमाडौं । 
आन्दोलनरत पक्षसँग भएको सहमति अनुरूप चितवन मेडिकल कलेजले काम नगरेको भन्दै विद्यार्थी अभिभावकले फेरि आन्दोलनको चेतावनी दिएका छन् ।
 
सहमति अनुसार मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कको भर्पाइ र प्रतिवेदन असोज १० गतेभित्र दिनु पर्दथ्यो ।
 
मिति कटे पनि भर्पाइ नपाएको भन्दै सोमबार बिहान ११ बजेभित्र भर्पाइ नदिए आन्दोलन गर्ने विद्यार्थी र अभिभावक समितिको अल्टीमेटम छ । चिकित्सा शिक्षा संघर्ष समिति र अभिभावक संघर्ष समितिले आइतबार संयुक्त विज्ञप्ती निकालेर यस्तो चेतावनी दिएका हुन् ।
 
चितवन मेडिकल कलेजका शिक्षण विभाग तर्फका प्रसाशक अरूण कोइरालाले काम सक्न समय लागेको बताए । ुकाम गर्छौं । केही समय लाग्ला । हामी काम सक्छौं । प्रतिवेदन पनि दिन्छौं, प्रसाशक कोइरालाले भने ।
 
चितवन मेडिकल कलेजले एमबीबीएससहितका विद्यार्थीबाट सरकारले तोकेकोभन्दा पाँचदेखि २० लाख रूपैयाँसम्म बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गरेका थिए । भदौ १५ देखि विद्यार्थी सडकमै ओर्लेका थिए ।
 
विद्यार्थी, अभिभावक र कलेज प्रतिनिधिबीच भदौं २६ मा चितवन जिल्ला प्रशासनमा बार्ता भएको थियो । जसमा कात्तिक १८ सम्म बढी लिएको शुल्क फिर्ता गर्ने र असोज १० भित्र बढी लिएको शुल्क बारे प्रतिवेदन तयार गर्ने र भर्पाइ पनि दिने उल्लेख छ ।
 
कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिए पनि कुनै पनि खालको विल भर्पाइ नदिएको विद्यार्थी अभिभावकले बताउने गरेका छन् ।
 
कान्तिपुर