भारतमा प्याज निर्यातमा प्रतिवन्ध, नेपालमा पनि अभाव

आश्विन १३,२०७६

-

असोज १३,२०७६ काठमाडौं । 
भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। उसले घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण तोकेको छ। यसले प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ। नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। भारतीय नीतिले नेपाली बजारलाई प्रभावित गर्दै आएको छ।
 
भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ। दिल्ली सरकारले आइतबारदेखि नागरिकलाई एकपटकमा पाँच किलो मात्रै खरिद गर्न पाउने नियम लगाएको छ।
 
मन्त्रालयले थोक विक्रेताको हकमा अधिकतम ५ सय र खुद्रा व्यापारीको हकमा १ सय क्विन्टल मात्रै भण्डारण गर्न पाउने कोटा तोकेको छ। अत्यधिक परिमाणमा भण्डारण गरी कालोबजारी गर्न सक्ने आशंकापछि यो कदम चालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
 
भारतमा प्याजको मूल्य बढ्दा त्यसको मारमा नेपाली उपभोक्ता परेका छन्। भारतमा ‘अफ सिजन’का कारण मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्छ। काठमाडौं उपत्यकामा थोक मूल्य १ सय रुपैयाँदेखि १ सय २० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ। खुद्रा व्यापारीले १ सय ५० रुपैयाँसम्म मूल्य तोकेका छन्।
 
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भदौ १५ मा प्रतिकिलो ५९ रुपैयाँमा कारोबार भएको थियो। असोज पहिलो साता यसको मूल्य अकासिएको हो। थोकमा प्रतिकिलो ४१ रुपैयाँ महँगिएको छ। खुद्रामा भने झन्डै ८० प्रतिशतले व्यापारीले आफूखुसी मूल्य थपेका छन्।
 
थोक आयातकर्ता अर्जुन सिलवालका अनुसार भारतमा उत्पादन भएको प्याज वर्षा र बाढीका कारण नष्ट हुँदा भाउ बढेको हो। बाढी र डुबानका कारण प्याजको भण्डारगृह पनि प्रभावित भएकाले भारतमै अचाक्ली मूल्यवृद्धि भएको छ, सिलवालले भने, त्यसले गर्दा नेपाली बजार प्रभावित छ।’
 
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले उत्पादन भएको प्याज झरीले भिजेर बजार आउन सकेको छैन। त्यसको प्रभाव नेपाली बजारमा देखिएको उनले सुनाए। 
 
अघिल्लो सिजनमा उत्पादन भएको प्याज थोरै मात्रै भण्डारण गरिएको थियो। त्यही पनि पानीमा भिजेकाले माग अत्यधिक र आपूर्ति कम भएर मूल्य अत्यधिक वृद्धि भएको हो।
अन्नपूर्ण