महाअभियोगको प्रस्तावलाई लिएर विपक्षी सांसदप्रति राष्ट्रपति ट्रम्पको टिप्पणी

आश्विन १६,२०७६

-

असोज १६,२०७६ काठमाडौं । 
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महाअभियोगको प्रस्तावलाई लिएर विपक्षी डेमोक्रेटिक सांसदहरुप्रति अश्लील र आपत्तिजनक भाषा प्रयोग गर्दै निन्दा गरेका छन् ।
 
फिनल्यान्डका राष्ट्रपति साउली निइनिस्टियोसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले अश्लील भाषा प्रयोग गर्दै डेमोक्रेटिक नेताहरुप्रति आक्रोश पोखेका हुन् । उनले डेमोक्रेटिक नेताहरुलाई बेइमान र देशद्रोहीको संज्ञा दिए ।
 
युक्रेनका राष्ट्रपतिलाई ट्रम्पले आफ्ना राजनीतिक प्रतिस्पर्धी जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा कारबाही गर्न टेलिफोन गरि आग्रह गरेको विषयमा उनीमाथि महाअभियोगको प्रस्ताव अघि बढेको छ । महाअभियोगका सम्बन्धमा गठित समितिले ह्वाइट हाउससँग टेलिफोन कुराकानीको पूर्ण विवरण मागेपछि राष्ट्रपति ट्रम्प आक्रोशित हुँदै आएका छन् ।
 
पत्रकार सम्मेलनका क्रममा उनको धेरै आक्रोश हाउस इन्टिलिजेन्सका अध्यक्ष एडम सिफतिर थियो । राष्ट्रपति ट्रम्पले अध्यक्ष सिफलाई अपराधी र इज्जत नभएको मान्छे भन्दै राजीनामा माग गरे । उनले यस्ता व्यक्तिलाई देशद्रोहीका रुपमा हेरिनुपर्ने पनि जिकिर गरे ।
 
राष्ट्रपति ट्रम्पले सम्पूर्ण अनुसन्धानलाई छल र अमेरिकी जनतामा कपटपूर्ण अपराधको संज्ञा दिँदै छानविनलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
 
यता डेमोक्रेटिकहरुले भने छानविन र महाअभियोग प्रक्रियालाई निष्पक्ष बनाउने बताउँदै आएका छन् । एजेन्सी