यो वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई दसैंको टीका लगाइदिने

आश्विन १७,२०७६

-

असोज १७,२०७६ काठमाडौं । 
यसपालिको बडादसैंमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवैले आफूकहाँ आउनेलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।
 
यसपालिको टीकाको साइत असोज २१ गते मंगलबार बिहान १०ः३५ बजेको लागि तय भएको छ । राष्ट्रपति भण्डारीले साइतको टीका परिवारसँग लगाउने र संवैधानिक निकायका पदाधिकारीलाई टीका लगाइदिन दिउँसो १ देखि २ बजेसम्मको समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयका सहसचिव शिव भट्टराईले जानकारी दिए । 
 
२ बजेपछि राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने छन् । गत वर्षको राष्ट्रपतिको टीका निकै विवादमा आएको थियो । राष्ट्रपतिसँग टीका थाप्दा घुँडा मार्न लगाइएको भन्दै विवाद भएकोमा यसपालि सतर्कता अपनाइएको राष्ट्रपति कार्यालयले बताएको छ । सहसचिव भट्टराईले कसैलाई अनिवार्य नभनिएको र आउनेलाई लाइदिने कुरा भएको जानकारी दिए । 
 
उता प्रधानमन्त्री ओलीले पनि पहिलो चरणमा पारिवारिक टीका लगाएपछि बालुवाटार पुग्नेलाई टीका लगाइदिनेछन् । ‘‘उहाँलाई चिकित्सकले टीकाको कार्यक्रममा भाग नलिनु भने पनि एक दिन भने उहाँले टीका लगाइदिने कार्यक्रम छ,’’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले बाह्रखरीसँगको कुराकानीमा भने । उता राष्ट्रपतिले पनि एक दिनमात्रै टीका लगाइदिने बताइएको छ ।