जेठ २५,२०७४
-
जेठ २५ - च्याम्पियन्स ट्रफि क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई डकवर्थ लुइस नियम (डिएल) का आधारमा १९ रनले पराजित गर्दै पाकिस्तानले पहिलो जित निकालेको हो । इंग्ल्यान्डको बर्मिंघममा भएको खेलमा दक्षिण अफ्रीकाले दिएको २२० रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहेको बेला वर्षाले खेल प्रभावित गरेपछि डकवर्थ लुइस नियमका आधारमा पाकिस्तान १९ रनले विजयी भएको हो । वर्षाले खेल रोकिनुअघि पाकिस्तानले २७ ओभरमा ३ विकेट गुमाएर ११९ रन बनाएको थियो । पाकिस्तानका फखर जामन र बाबर आजमले समान ३१/३१ रन तथा मोहम्मद अफिजले २६ रन जोडेका थिए । दक्षिण अफ्रिकाका मोर्ने मोर्केलले तीन विकेट लिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धािरत ५० ओभरमा ८ विकेटको क्षतिमा २१९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित ७५ रन बनाए । यस्तै क्विटन डी ककले ३३, क्रिस मोरिसले २८ तथा कागिसो रबाडाले २६ रन जोडे । पाकिस्तानका हसन अलिले तीन तथा इमाद वासिम र जुनेद खानले समान दुई दुई विकेट लिए । यो जितसँगै समूह बि मा रहेको पाकिस्तानले दुई खेलबाट २ अंक जोडेको छ । र, पाकिस्तान समूहको तेस्रो स्थानमा छ । पराजित दक्षिण अफ्रीका पनि २ अंक जोडेर समूहको दोस्रो स्थानमा छ । यससमूहमा एक खेलबाट २ अंक जोडेको भारत शिर्ष स्थानमा छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार