सामाजिक सुरक्षा कोषमा ८ हजार पाँच सय रोजगारदाता सूचीकृत

कार्तिक ०१,२०७६

-

कार्तिक १, २०७६ काठमाडौं । 
सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने अन्तिम म्याद बिहीबार सकिएको छ । म्याद सकिएसँगै कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या ८ हजार पाँच सय नाघेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताउनुभयो । 
 
उहाँका अनुसार ती प्रतिष्ठानका ९४ हजारभन्दा बढी योगदानकर्ता अर्थात श्रमिक कोषमा सूचीकृत भइसकेका छन् ।
 
बिहीबार मात्रै २ हजार ३ सय भन्दा बढी प्रतिष्ठान कोषमा सूचीकृत हुन आएका छन् । अन्तिम दिन पर्खेर सूचीकृत हुन आउनेहरुको संख्या ह्वात्तै बढेको ज्ञवालीले बताउनुभयो ।
 
‘दशैँको बिदा भएका कारण आउन नभ्याएका हुन् कि’, उहाँले भन्नुभयो, ‘त्यसै पनि तोकिएको म्यादको अन्तिम दिन काम गर्ने हामीहरुको नराम्रो बानी छ ।’
 
यस्तै कोषमा सूचीकृत नभएकाहरुलाई कारबाही गर्ने कि म्याद थप गर्ने भन्ने अहिल्यै भन्न नमिल्ने उहाँको भनाइ छ । यो विषयमा श्रम तथा रोजगार मन्त्रालयले नै निर्णय गर्ने भएकाले अहिले नै भनिहाल्न नमिल्ने उहाँको भनाइ छ ।
 
अहिले मन्त्रीलगायत मन्त्रालयका उच्च अधिकारी विदेश भ्रमणमा रहेकाले उहाँहरु स्वेदश फर्केपछि मात्र के गर्ने भन्ने निर्णय हुन्छ’उहाँले भन्नुभयो, जहाँसम्म अन्तिम पटक म्याद थप्ने कि भन्ने भएको छ ।’
 
सामाजिक सुरक्षा योजना लागू भएको १० महिना बितिसक्दा पनि अपेक्षा गरेअनुरुप प्रतिष्ठानहरु कोषमा सूचीकृत हुन सकेका छैनन् । तर पनि ठूला संस्थाहरु कोषमा सूचीकृत हुने क्रम बढीरहेकोले आफूहरुले यसलाई निकै सकारात्मक रुपमा लिएको निर्देशक ज्ञवालीको भनाइ छ । 
 
अहिलेसम्म चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल, शिवम सिमेन्ट, युनिलिभर, जीफोरएससहित १ सय १७ वटा ‘आउटसोर्सिङ’ कम्पनीहरु, नोबल मेडिकल कलेज, मेडिकेयर अस्पताल, गोल्डस्टार सुज, नर्भिक अस्पताल र आम्दा नेपाल सूचीकृत भएका छन् ।
 
तथ्यांक विभागका अनुसार ९ लाख भन्दा धेरै नीजि कम्पनी र त्यसमा आवद्ध ३० लाखभन्दा बढी श्रमिक रहेका छन् ।