पसलहरु तिहार लक्षित समानले भरिभराउ:

तिहारमा विद्युतीय बत्तीले परम्परागत बत्ती विस्थापित

कार्तिक ०३,२०७६

-

कार्तिक ३,२०७६ काठमाडौं ।
तिहारमा बालिने परम्परागत बत्तीलाई पछिल्लो समय विद्युतीय बत्तीले विस्थापित गरिरहेको छ । तिहारकै लागि भनेर विभिन्न खालका दीयो, मालाबत्ती लगायत झण्डै ७० देखि ८० करोड रुपैयाँसम्मको विद्युतीय सामान आयात हुने गरेको छ । 
 
पहिला पहिला माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपासको बत्तीले गाउँसहर झिलिमिलि बन्थ्यो । तर, यी सामाग्रीमा भन्दा रङ्गीचङ्गी विद्युतीय बत्तीमा आम चासो बढ्न थालेको छ । लोडसेडिङको समस्या हटेपछि भने विद्युतीय बत्तीमा मानिसहरुको आकर्षण अत्यधिक रहेको पाइन्छ । 
 
तिहार झिलीमिलीको पर्व हो । अझ आजकाल कसको घरमा कस्ता खालका झिलीमिली बत्ती बालिएको छ भनेर देखासिकी गरी उसको भन्दा आफ्नो घरलाई भिन्न देखाउने होडबाजी नै चल्न थालेको छ । 
 
यस वर्षको तिहारमा झण्डै ८० करोड रुपैयाँको विद्युतीय बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजनारायण खरेलले जानकारी दिए । 
 
खरेलका अनुसार तिहार लक्षित विद्युतीय बत्ती झण्डै ८० करोड रुपैयाँको आयात भएको हो । उनका अनुसार तिहारका लागि आउनुपर्ने प्रायः सबै खालका बत्ती आइसकेको छ ।
 
खरेलले भने, ‘ल्याइएको विद्युतीय बत्ती लक्ष्मी पूजाको दिनसम्म बिक्री गरिसक्नुपर्ने भएकाले अब आउने बत्ती बिक्री नहुने सम्भावना छ । लगभग सबै बत्तीहरु आइसकेका छन् ।’
 
एकपटक प्रयोग गरेको बत्तीलाई अर्को वर्ष पनि प्रयोग गर्न पाइने भएकाले पनि उपभोक्तामा विद्युतीय बत्तीप्रति आकर्षण बढेको खरेलको भनाइ छ । 
 
व्यवसायीहरुले भने मनपरी भाउ लिँदा उपभोक्ता ठगिएका छन् । सरकारको अनुगमन प्रभावकारी नहुदा पनि उपभोक्ताहरु मारमा परेका हुन् । तिहार आउन अब एक साताभन्दा कम समय छ । तिहारको किनमेलका लागि बजारमा भिड लाग्न थालिसकेको छ । पसलहरु तिहार लक्षित समानले भरिभराउ छन् ।