सरकारका कारण जनतामा वितृष्णा जागेकोले गणतन्त्र नै गुम्ने खतरा बढ्योःकेसी

कार्तिक ०५,२०७६

-

कात्तिक ५,२०७६ काठमाडौं । 
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र, धर्मनिरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । 
 
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएको टिप्पणी गरे । 
 
उनले भने,‘कतै यो निराशा, वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै एउटा खतरा आउने हो कि भन्ने हामीमाथि डर छ ।
 
सत्तामा वा प्रतिपक्षमा भएपनि हामी परिवर्तनकारी शक्ति एकजुट भएर अघि बढ्नुपर्छ । २०६२–०६३ सालको जनआन्दोलनबाट ल्याएका उपलब्धि बचाउन एक ढिक्का हुनुपर्छ ।’
 
‘हामीलाई नेपालमा संविधान सभाको चुनावमात्रै गराउन ६५ वर्ष लाग्यो । जनप्रतिनिधिबाट संविधान बनाउनुपर्छ भन्ने मागअनुसार संविधान बनाउनको लागि दुईपटक संविधानसभाको चुनाव भयो ।
 
देशमा गणतन्त्र स्थापना भयो । नेपाली जनतालाई भन्ने गरियो, संविधान बनेपछि धेरै समस्या समाधान हुन्छ, चुनाव भएपछि धेरै समस्या समधान हुन्छ । 
 
र, संघीयता आएपछि झन धेरै समस्या समाधान हुन्छन् भन्ने कुरा गरियो । गणतन्त्रपनि आयो, संघीयता पनि ल्याईयो । 
 
हामीलाई एउटा नेपालले भएन, सात वटा नेपाल बनायौं । ८८५ सांसद बनाउन सफल भयौं । ७५३ सरकार बनायौं । गणतन्त्र स्थापना भयो राम्रै कुरा भयो ।’
 
मुलुकमा यतिवेला दुई तिहाई बहुमतको सरकार रहेको भएपनि नेपाली जनताले सुशासनको अनुभुति गर्न नपाएको उनको गुनासो छ । 
 
‘तत्कालिन नेकपा एमलो र नेकपा माओवादी केन्द्रबीच एकता भयो । नेकपाले दुई तिहाई मत ल्यायो । राम्रै कुरा भयो । अहिले दुई तिहाई बहुमतको सरकार गठन भएको छ । यत्ति हुँदाहुँदैपनि नेपाली जनताले अहिलेपनि सुशासन पाएनन् । पहिले दशैं आयो । 
 
उनले सत्तामा बस्नेहरुले सुशासन कायम गरेको, भ्रष्टाचार घटाएको, सार्वभौमसत्ताको रक्षा गरेको भनेर भन्नु त नौलो कुरा नभएको चित्रण गरे । उनले थपे,‘तर, यथार्थमा जनताको समस्या जटिल छ । 
 
यति ठूलो संघीय प्रणाली, जसको लागि नेपालको सामथ्र्य थिएन । यो मुलुकमा संघीयता आएपछि जातीय समस्या समाधान हुन्छ । भाषिक समाधान हुन्छ भनियो । वास्तवमा अहिले समाधान भएको छैन् ।’
आफ्नो पार्टीले सबैसँग मिलेर अघि बढ्ने नीति लिएको पनि उनले सनुाए । 
 
जनप्रतिनिधिहरुले जनतालाई सेवासुविधा दिने कुरामाभन्दापनि आफ्नो सेवासुविधा बढाउनेतर्फमात्रै सोचेको  पनि उनको आरोप छ ।
 
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्र सहमति, एकता र अन्तरविरोध र छलफल भैरहने भन्दै अहिले कुनै विवाद नभएको स्पष्ट पारेका छन् ।
 
उनले भने,‘बरु, अहिलेको परिस्थिति के हो र हाम्रो जिम्मेवारी के हो भन्ने कुरातर्फ जानुपर्छ । हरेक पार्टीमा अन्तरविरोध हुन्छ । तर, हाम्रो पार्टीमा त्यो स्तरको अन्तरविरोध छैन् । असन्तुष्टिहरु छैनन् । यो त बरु सिर्जित अन्तरविरोध हो ।’
 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले अहिले जनता पुरै निराशामा रहेको टिप्पणी गरे । 
 
उनले भने,‘सत्ताको रमाईलो पाटो हुन्छ । सत्तामा बस्दा चौतर्फी राम्रो देखिने हुन्छ । सारा कुरा राम्रो देखिने भन्ने हुन्छ । यदि त्यो साँचो भैदिएको भए पुरै नेपाल सुनैसुनको र सारा नेपाली समद्ध हुन्थे ।’ 
 
उनले यतिवेला जनता अत्यन्तै ज्यादा निराश रहेको बताए । उनले भने,‘दुई तिहाई मतका साथ जनताले नेकपालाई सरकारमा पुर्याए । 
 
निर्वाचन भएको २२ महिना भैसक्यो । सरकार बनेको २० महिना भैसक्यो । यो बीचको मुल्यांकन गर्ने हो भने सरकार ठीक ढंगले अघि बढेको छैन् ।’
 
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले आफूहरुले सुरुदेखि नै उठाउँदै आएको मुद्दा संविधान संशोधनप्रति सबै दल जिम्मेवारी बन्नुपर्ने धारणा राखे ।