धुर्मुस सुन्तलीको सपनाः गौतमबुद्ध क्रिकेट रंगशालाको डिपिआर तयार
-
कार्तिक ६, २०७६ काठमाडौं ।
धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा बनाउने प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।
भरतपुर महानगरपालिका कार्यालयमा बुधबार उक्त डिपिआर प्रस्तुत गरेर सुझाव लिने काम भएको छ । केही परिमार्जन भए पनि डिपिआर निर्माण सकिएको फाउण्डेशनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुसले बताए ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको रामपुरको २२ विघा १७ कट्ठा जमिनमा रंगशाला बन्दै छ । विश्वविद्यालयलाई सट्टाभर्ना दिने गरेर भरतपुर महानगरले उक्त जग्गा प्राप्त गरेको हो ।
धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरमा सहयोग अभियान सञ्चालन गरेर रंगशाला निर्माण गर्ने छन् । रंगशाला भरतपुर महानगरपालिकालाई हस्तान्तरण हुने छ ।
रंगशाला निर्माणका सम्बन्धमा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच गएको माघ १६ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो । त्यो बेला ६ महिनाभित्र डिपिआर बनाउने र दुई वर्षभित्र निर्माण पुरा गर्ने घोषणा भएको थियो ।
तर सहमतिपत्रमा हस्ताक्षर भएको नौ महिना २० दिनपछि डिपिआर सार्वजनिक गरिएको छ । रंगशाला निर्माणका लागि चाहिने सहयोग पनि सोचे जस्तो जुटेको छैन । यो बीचमा बार भत्काउने जस्ता काम पनि भए ।
डिपिआर अनुसार ३० हजार दर्शक अटाउने क्षमताको रंगशाला निर्माणका लागि भ्याट बाहेक दुई अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान छ । क्रिकेट मैदान ७० मिटर रेडियसको हुने छ । पाँचवटा पिच हुने छन् । क्रिएटिभ डिजाइन आर्किटेक प्रालिले डिपिआर तयार पारेको हो । भारतीय र अमेरिकन परामर्श कम्पनीको पनि सहयोग लिएको प्रालिका शेरबहादुर केसीले जानकारी दिए ।
कमलको फुलको आकार अनुरुप मल्लकालीन नेपाली वास्तुकलाको मिश्रण रंगशालामा देख्न पाइने छ । अन्तर्राष्ट्रिय क्रिकेट आउन्सिल ९आईसीसी०को प्रवधान अनुरुपको रंगशालाको डिजाइन गरेको केसीले बताए ।
सन् २०१७ पछि बनेका र बन्दै गरेका भारतका क्रिकेट स्टेडियमहरु हेरेर र अध्ययन गरेर डिजाइन गरेको उनको भनाइ छ । सबै खाले संरचना र डिजाइनको बारेमा अमेरिकाको मियामोतोसँग परामर्श लिएको उनले बताए ।