भारतमा चुनावी नतिजाः महाराष्ट्र र हरियाणामा भाजपाकै सरकार बन्ने गरी नतिजा

कार्तिक ०८,२०७६

-

कात्तिक ८, २०७६ काठमाडौं ।
भारतको दुई राज्य महाराष्ट्र र हरियाणामा फेरि पनि भारतीय जनता पार्टी (भाजपा) र उसकै गठबन्धनले सरकार बनाउने गरी नतिजा आएको छ । 
 
पहिलाको भन्दा भाजपाको अवस्था दुवै स्थानमा खस्किएको भए पनि सरकार बनाउन सक्ने अवस्था भने उसकै छ ।  
 
६ महिनाअघि भएको आम चुनावपछि भारतमा भएको यो चुनाव प्रधानमन्त्री नरेन्द्र मोदीको लागि शक्ति परीक्षणको अवसर पनि थियो । तर, यो शक्ति परीक्षणमा मोदी पहिलाभन्दा केही खस्किएको देखिएको छ ।
 
यद्यपि प्रधानमन्त्री मोदीले चुनाव परिणामपछि बिहीबार नयाँ दिल्लीमा भाजपाको कार्यालयमा आयोजित समारोहमा चुनावमा ठूलो सफलता प्राप्त भएको मात्रै बताएनन्, उनले त्यसलाई अभूतपूर्व समेत भनेका छन् । 
 
अभूतपूर्व उनले यस अर्थमा भनेका छन् कि ५ वर्ष सरकार चलाइसकेपछि त्यही पार्टीले चुनाव जित्ने सम्भावना कम भए पनि महाराष्ट्र र हरियाणा दुवैमा भाजपा नै ठूलो दल बन्न सफल भएको छ ।
 
 
उनले देवेन्द्र फडणवीस महाराष्ट्रको र मनोहर लाल हरियाणाको मुख्यमन्त्रीमा कायम रहने समेत बिहीबार घोषणा गरेका छन् । मोदीले दुवै मुख्यमन्त्रीको स्रहाना गरेका थिए ।
 
हरियाणामा भाजपा सबैभन्दा ठूलो पार्टी बने पनि बहुमतबाट धेरै टाढा रहेको छ । प्रधानमन्त्रीले यसलाई ठूलो जित भने पनि वास्तविकता भने फरक रहेको छ ।
 
हरियाणामा भाजपा सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ तर पहिलाको जस्तो आफ्नै हैसियतमा सरकारमा आउन सक्ने अवस्था छैन । ९० सिट भएको हरियाणा विधानसभामा भाजपालाई ४० सिट र कांग्रेसलाई ३१ सिट प्राप्त भएको छ र नयाँ पार्टी जेजेपीलाई १० सिट मिलेको छ । हरियाणामा भाजपा दोस्रो पटक सरकार बनाउन सक्छ तर उसलाई स्वतन्त्र विधायक र साना दलको मद्धत लिनुपर्नेछ । 
 
मोदीले २०१४ को तुलनामा अहिले पार्टीले तीन प्रतिशत बढी मत पाएको जनाएका छन् । तर ६ महिना अघि भएको लोकसभा चुनावमा पार्टीले ५८ प्रतिशत मत पाएको थियो । त्यो कुरा भने उनले अहिले बताएनन् ।
 
त्यतिबेलाको भन्दा अहिले २२ प्रतिशतले मत घटेको छ । चुनावअघि भाजपाले ‘अबकी बार ७५ पार’ भनेको थियो । तर, नतिजा आउँदा पहिलाको भन्दा सात सिट कम आएको छ । 
 
उता महाराष्ट्रको बारेमा मोदीले सन् २०१४ भन्दा अघि भाजपा एक जुनियर पार्टनरको रुपमा चुनाव लड्ने गरेकोमा २०१४ मा चुनाव जितेपछि कम अनुभवी मुख्यमन्त्री भएर पनि फडणवीसले ५० वर्षमा नै पहिलो पटक यसपालि ५ वर्ष काम गर्न सकेको भन्दै स्रहाना गरेका छन् । 
 
यसले त्यहाँको राजनीतिक स्थिरता देखाएको तर्क गरे । २८८ सिट भएको महाराष्ट्र विधानसभामा भाजपा र शिव सेना गठबन्धनले करिब १६० सिट जितेर दोस्रो पटक सरकार बनाउन लागेका छन् । यद्यपि सन् २०१४ को तुलनामा अहिले उनीहरुको प्रदर्शन कमजोर देखिएको छ । 
 
उनीहरुले चुनाव प्रचारको क्रममा २५० भन्दा बढी सिट ल्याउने दाबी गरेका थिए । यद्यपि मुख्यमन्त्री पदको लागि भाजपा र शिवसेनाबीच अझै पनि तनाव हुने अवस्था छ ।
 
शिव सेनाका नेता उद्धव ठाकरेले भनिसकेका छन्, ‘‘अब बडा भाइ वा छोटा भाइ कोही पनि छैन । पावर शेयरिंग पहिलादेखि नै तय थियो । मुख्यमन्त्री को हुने र पावर शेयरिंग कसरी गर्ने दुई पार्टीका मुख्य नेताले तय गर्ने हो  ।’’ राज्यमा शिवसेनालाई मुख्यमन्त्री मिल्छ भन्ने प्रश्नमा उनले भनेका छन् , ‘‘तपाईको मुखमा घिउ र सख्खर जाओस् ।’’ बीबीसी