विदेशी सामानले सजिएकोे तिहार, महंगो भाइमसला !
-
कार्तिक ८, २०७६ काठमाडौं ।
आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डे लक्ष्मीपूजाको तयारीमा व्यस्त छन्। तिहारमा व्यवसायीका लागि धनकी देवी लक्ष्मीको पूजा विशेष महत्वको हुने भएकाले पाण्डेले आफ्ना सबै पसल सजाउन थालेका छन्। ‘सबै आउटलेटमा बिजुली बत्तीले झकिझकाउ बनाउँदैछौं,’ पाण्डेले भने, ‘लक्ष्मी पूजाको दिन सबैतिर पूजा गरिन्छ।’
पूजाआजा मात्र नभएर लक्ष्मी पूजामा वर्षभरीको उधारो तिर्नेलाई पनि विशेष छुट दिने पाण्डेले बताए। ‘बक्यौता चुक्ता गर्नेलाई लक्ष्मीपूजाको अवसरमा विशेष छुट दिन्छौं,’ पाण्डेले भने, ‘पुरानो हिसाबकिताब क्लियर गर्ने भएकाले पनि व्यापारीका लागि लक्ष्मीपूजाको विशेष महत्व छ।’ पाण्डेले लक्ष्मीपूजाको दिन कर्पोरेट अफिस र गोदाममा आफूले पूजा गर्छन् भने अन्य आउटलेटमा कर्मचारीलाई पूजा गर्न लगाउँछन्।
उद्योगी, व्यापारीले भाइटीका जत्तिकै महत्वका साथ लक्ष्मीपूजा गर्छन्। यमपञ्चकको तेस्रो दिन पसल, उद्योग, घरदेखि वित्तीय संस्थाहरुमा लक्ष्मीपूजा गरिन्छ। लक्ष्मीलाई खुसी पारे व्यवसाय फस्टाउने विश्वासले पूजा गर्ने गरेको व्यापारी बताउँछन्। उद्योगी, व्यवसायीलाई लक्ष्मीपूजाको विशेष महत्व रहेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन्। ‘जहाँबाट लक्ष्मी आउँछ त्यहाँ लक्ष्मीपूजा गर्नुपर्छ,’ राणाले भनिन्, ‘सबै व्यवसायीले धुमधामका साथ पूजा गर्छन्।’ राणा पनि लक्ष्मीपूजाको दिन दिनभर फास्टिङ गरेर बेलुका लक्ष्मीको पूजा गर्ने गर्छिन्।
उद्योग, गोदामदेखि आउटलेटसम्म लक्ष्मी भित्र्याउनका लागि पूजा गर्ने गरेको उद्योगीले बताए। पूजाका लागि उनीहरुले बजेट नै विनियोजन गर्ने गरेका छन्।
लक्ष्मीले बास गरे व्यापार फस्टाउने विश्वास गरिन्छ। नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारका उद्योगी, व्यवसायी लक्ष्मीको उपासक भएको बताउँछन्। मारवाडी समुदायले जैन धर्म मान्ने भए पनि हिन्दुहरुले मनाउने तिहारमा लक्ष्मीपूजा गरेर मनाउने गरेको मुरारका बताउँछन्। ‘खातापाताको पनि पूजा गरिन्छ,’ उनले भने, ‘सरसफाइ गरेर लक्ष्मीको पूजा गरिन्छ।’ उद्योगी, व्यवसायीमात्र नभएर बैंक, सहकारी तथा वित्तीय संस्थाले पनि उच्च महत्वका साथ पूजा गर्छन्। बैंकहरुले पैसा राख्ने भल्टको पनि पूजा हुन्छ।
दसैंपछि सुस्ताएको बजार तिहार नजिकिँदै गर्दा चम्किन थालेको छ। तिहारमा ढाकाटोपी, लत्ताकपडा, फूलमाला, भाइमसला, झिलिमिली पार्ने विद्युतीय सामग्री, पटाका, सप्तरङ, सुनको कारोबार ह्वात्तै बढेको छ। अहिले राजधानीलगायत मुलुकभरका बजारमा किनमेल गर्नेको घुइँचो छ।
भीडभाड मुलुकका प्रमुख व्यापारिक केन्द्रमा मात्र नभएर सपिङ कम्प्लेक्स, सुपरमार्केटदेखि सपिङ मलसम्मै फैलिएको छ। सीमा क्षेत्रका बासिन्दाले सीमावर्ती भारतीय बजारसम्म पुगेर तिहारको सपिङ गर्छन्।
दसैं, तिहार जस्ता चाडपर्वले मुलुकको अर्थतन्त्र चलायमान बनाउने भएकाले उद्योगी, व्यवसायीलाई विशेष महत्व हुनु स्वाभाविक भएको नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले बताए। ‘चाडपर्वमा दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्न, फलफूल, मसलाको खपत बढ्छ,’ शर्माले भने, ‘अर्थतन्त्र चलायमान बन्छ।’ डिमार्टमेन्टल स्टोर्सहरुमा भाइमसलाको प्याक बनाएर विभिन्न मूल्यमा बिक्रीका लागि राखेका छन्।
किसमिस, ओखर, काजु, बदाम, नरिवल, ओखर, कटुस, सुपारीलगायत सामग्रीको प्याक बनाएर राखेका छन्। भाइटीकाको दिनमा दिदीबहिनीले दाजुभाइलाई दिने मसलाको व्यापार निकै फस्टाएको छ। सडकदेखि डिपार्टमेन्टल स्टोर्ससम्म मसला बिक्री भएको छ। यो सिजनमा करिब दुई अर्ब रुपैयाँ बढीको भाइमसला बिक्री हुने बताइन्छ।
धनकी देवी लक्ष्मीको पूजा हुने भएकाले लक्ष्मी, गणेशको फोटाको बिक्री पनि बढेको छ। पूजा सामग्री, माटोको दियोको माग पनि उच्च छ। यो बेलामा मिष्ठान्न पसलको व्यापार पनि चम्किन्छ। तिहारमा फलफूलको पनि माग उच्च हुन्छ। स्याउ, सुन्तलालगायत फलफूलको बिक्री बढ्छ।
तिहारमा सुनको कारोबार पनि वृद्धि हुन्छ। यो सिजनमा करिब १० अर्ब रुपैयाँको बिक्री हुने व्यवसायी बताउँछन्। पैसा हुनेले तिहारकै अवसर पारेर सुनचाँदी खरिद गर्छन्। तिहारको अवसरमा घरमा सरसामान भित्र्याउने परम्परा छ। धनवन्तरी र लक्ष्मीपूजाको दिनमा क्षमता अनुसार सुन–चाँदी, पित्तल, तामा, चरेसका सामान किन्ने प्रचलन छ। तिहारमा माटोका पाला, खुत्रुके, अम्खोरा, धुपौरो, गमला, सुराई, कलिञ्चा, र घडाको व्यापार बढ्छ।
घर र अफिस सजाएर झिलिमिली पार्ने भएकाले विद्युतीय सामग्रीको धेरै खपत हुन्छ। तिहारमा प्रयोग हुने अधिकांश सामान आयातित हुन्छन्। दिदीबहिनीले दाजुभाइलाई दिने भाइमसला, माला पनि विदेशी छन्। मसलामात्र नभएर यहाँको खेतबारी, पाखोबारीमा उत्पादन गर्न सकिने मखमली, सयपत्री फूल पनि विदेशबाट आयात हुन्छ।
तिहारमा सबैले घरबाहिर झिलिमिली बनाउनका लागि विद्युतीय सामग्री प्रयोग गर्छन्। दसैं–तिहारमा लत्ताकपडा, माछामासु, दैनिक उपभोग्य वस्तु, मदिरा, सवारीसाधन खरिद, घर रङरोगन, घरायसी सामान, पारिवारिक घुमफिर गर्ने भएकाले व्यापार फस्टाएको छ। निम्न आम्दानी हुनेले थोरै खर्च गरे पनि उच्च आम्दानी हुनेबीच खर्च गर्ने एक प्रकारको प्रतिस्पर्धा नै देखिन्छ। नागरिक