डोजर आक्रमणबाट घाईते गौरी फेरी बेहोस भएपछि भारत लगियो
-
कार्तिक ८, २०७६ काठमाडौं ।
बैतडी डोजर आक्रमणकी घाइते गौरी जोशी पुनः बेहोस भएपछि थप उपचारका निम्ति भारत लगिएको छ ।
नेपालगञ्जमा सीटीस्क्यान गरेर घर फर्काउने क्रममा महेन्द्रनगरमा अचानक बेहोस भएपछि भारत लगेको गौरीका श्रीमान जगदीश जोशीले बताए ।
“छिनछिनमा बेहोस हुने । धनगढी र नेपालगञ्जमा उपचार राम्रो भएन । भारत लगेको छ,” जगदीशले भने, “गरिब मान्छे हजुर । पैसा पनि छैन । श्रीमतीको अवस्था पनि बुझ्न पाएको छैन ।”
होटलमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका जोशीले उपचार खर्च पनि नभएको दुखेसो पोखे । “घरमा बालबच्चा अलपत्र परे । कमाएर खुवाउने ममात्रै थिएँ । बेचबिखन गरौं भने घरमा अन्नपात पनि छैन । डोजरले हिर्काएपछि बिल्लिबाठ भएको छ,” उनी भन्छन् ।
दशरथ चन्द नगरपालिका–९ ग्वाल्लेकमा मोटरबाटो बनाउने विषयमा दुई गाउँबीच कुरा मिलेको थिएन । देहीमाडौंबासीले जबरजस्ती गर्न खोजेपछि ग्वाल्लेकबासी विरोधमा उत्रिएका थिए ।
डोजर चालक केशव बोहोराले जबरजस्ती गर्दै बाटो खन्न थालेपछि प्रतिवादमा उत्रिएकी जोशी बकेटले हानेर सख्त घाइते भएकी थिइन् । बकेटले हानेर तीन बल्ड्याङ पछारिएकी जोशीको टाउको र ढाडमा गम्भीर चोट लागेको र अवस्था अहिले पनि चिन्ताजनक रहेको उनका श्रीमानले बताएका छन् ।
“ऋण खोजेर श्रीमतीको उपचार गर्दैछु । चिकित्सकले अवस्था खतरापूर्ण नै छ भन्नुभएको छ । के हुने हो, चिन्तामा छु,” श्रीमान जगदीशले बाह्रखरीसँग भने ।
डोजर चालक केशव बोहोरालाई प्रहरीले भोलिपल्टै नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान पनि भइरहेको छ ।
ज्यान मार्न उक्साएको आरोपमा डोजर मालिक भवानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध पनि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।