इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीको ऐतिहासिक जित
-
कात्तिक ९,२०७६ काठमाडौं ।
लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल इतिहासमै सबैभन्दा ठूलो गोलअन्तरको जितका लागि २४ वर्ष पुरानो कीर्तिमान बराबरी गरेको छ । आफ्नै मैदानमा १० खेलाडीमा समेटिएको साउथह्याम्प्टन यो खराब कीर्तिमानका लागि पराजित टिम बन्यो ।
सेन्ट मेरिज रंगशालामा वर्षाले प्रभावित खेल जितेपछि लिभरपुलका पूर्व प्रशिक्षक ब्रेन्डन रोजर्सको टिम लेस्टर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
१० खेलबाट २० अंक जोडेको लेस्टरले एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई १ अंकले पछि पारेको छ भने शीर्ष स्थानको लिभरपुलसँगको दूरी ५ अंकमा झारेको छ ।
लेस्टरका स्टार जेमी भर्डीले खेलको इन्ज्यूरी समयमा पेनाल्टीमार्फत गोल गरेपछि सन् १९९५ मा म्यानचेस्टर युनाइटेडले इपस्विचविरुद्ध निकालेको ९-० को जितको कीर्तिमान बराबरी भएको हो ।
भर्डी र एयोज पेरेजले ह्याट्रिक पूरा गरे । खेलको १२ औं मिनेटमै पेरेजविरुद्ध डरलाग्दो ट्याकल गरेका साउथह्याम्प्टनका र्यानन बर्टरान्डले रातो कार्ड पाएपछि पाहुना टोलीले गोलको वर्षा सुरु गरेको हो । त्यसको २ मिनेटअघि बेन चिलवेलले पाहुना टोलीका लागि पहिलो गोल गरेका थिए ।
लेस्टरले यो कीर्तिमानी जित क्लबका तत्कालीन अध्यक्ष भिचाई श्रीवद्धनाप्रभाको हेलिकोप्टर दुर्घटनाबाट निधन भएको वार्षिकीको २ दिनअघि हासिल गरेको हो । दुर्घटनामा अध्यक्षसहित ४ जनाको निधन भएको थियो ।
लेस्टरका लागि युरी टिलेम्यान्सले १७ औं मिनेटमा गोल गरेका थिए भने जेम्स म्याडिसनले ८५ औं मिनेटमा आठौं गोल गरेका थिए ।
पेरेजले १९ औं, ३९औं र ५७ औं मिनेटमा गोल गरे भने भर्डीले ४५ औं, ५८ औं र खेलको इन्ज्यूरी समयमा गोल गरे ।
१३१ वर्षको इंग्लिस प्रिमियर लिग इतिहासमा यो सबैभन्दा ठूलो अवे जित हो । योसँगै साउथह्याम्प्टनले कुनै पनि प्रतियोगितामा बेहोरेको यो सबैभन्दा ठूलो अन्तरको हार हो ।
अवे खेलको पहिलो हाफमै ५-० को अग्रता पनि प्रिमियर लिग इतिहासमा अहिलेसम्म ५ पटकमात्र भएको छ । यसअघि सन् २०१० मा म्यान्चेस्टर सिटीले बर्नलेबिरुद्ध उसैको मैदानमा यो कीर्तिमान बनाएको थियो ।
प्रिमियर लिग इतिहासमै एकै खेलमा दुई खेलाडीले ह्याट्रिक गरेको यो दोस्रो खेल हो । यसअघि सन् २००३ मा आर्सनलले साउथह्याम्प्टनविरुद्ध नै जित निकाल्दा पेन्नान्ट र पिरेसले ह्याट्रिक गरेका थिए ।
साउथह्याम्प्टनका प्रशिक्षक राल्फ हसेनहटलले हारको सम्पूर्ण जिम्मेवारी आफूले लिने प्रतिक्रिया दिएका छन् ।