Trending :
 

नेपाल-यूएई संयुक्त कार्य समूह बैठक काठमाडौंमा सुरु

कार्तिक १७,२०७६

-

कार्तिक १७, २०७६ काठमाडौं ।

नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम समझदारी ९एमओयू० को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । 

दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदार भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषयलाई बैठकले टुङ्ग्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बैठक दुई दिनसम्म चल्नेछ । 
 
बैठकले श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रुप दिने मन्त्रालयका उपसचिव दीपक ढकालले जानकारी दिए । उनका अनुसार बैठकले एमओयू कार्यान्वयनको ‘मोडालिटी’ टुङ्गो लगाउनेछ । 
 
बैठकमा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले गरेका छन् भने यूएईका तर्फबाट त्यहाँका मानव संसाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्व गरेका छन् ।
 
बैठकमा सहभागी हुन यूएईको प्रतिनिधिमण्डल शनिबार काठमाडौँ आएको थियो । आबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन गत असोज अन्तिम साता यूएई पुग्नुभएका श्रममन्त्री गोकर्ण विष्ट र यूएईका मानव संसाधनमन्त्री नासेर विन थानी अल हम्लीबीच दुबईमा भएको छलफलमा समझदारीपत्रमा उल्लेख भएअनुसार नोभेम्बर पहिलो साता संयुक्त कार्य समूहको बैठक बस्ने सहमति भएको थियो । रासस